काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । शनिबार साक्षात्कारमा गृहमन्त्री शर्माले सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै मतदाताहरुको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिएको पनि स्पष्ट पारे ।
उनले भने,‘आम मतदाताहरुको सुरक्षाको लागि सरकारले आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेको छ, सुरक्षाकर्मीहरुलाई परिचालन गरिसकेको छ, जनताहरुमा अपिल गर्न चाहन्छु–कि ढुक्क भएर आफ्नो मत हाल्नुहोस् ।’उनले निर्वाचन सुरक्षाको पहिलो आधार नै जनताहरुको उत्साह भएको स्पष्ट पारे ।
गृहमन्त्रालयले निर्वाचन सुरक्षाको लागि केन्द्रित सुरक्षा निति अनुसार नै जिल्ला स्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र जस अनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुशन्धानलाई घटाईएको मन्त्री शर्माले जानकारी दिए ।
उनले सरकारले कर्मचारीहरुको सरुवा पनि आयोगको स्विकृति लिएर नै गरिएको स्पष्ट पार्दै भने,‘हालै गरिएको मन्त्रिमण्डल विस्तारमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगसँग समन्वय गर्नुभएको होला भन्ने मेरो विश्वास छ ।’
२ नम्बर प्रदेशका आठ वटै जिल्लाहरु भारतीय सिमावर्ती क्षेत्रमा पर्ने भएकोले मतदानको बेला कुनैपनि अप्रिय घट्ना र अपराधजन्य क्रियाकलाप नहोस् भनेर मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नै सबै नाकाहरु सिल गरिसकिएको पनि उनले जानकारी दिए । शर्माले थपे,‘काउन्टरपार्टले पनि मद्दत गरेको छ, र सहयोग गर्ने सहमति भैसकेको छ, उहाँहरुसँग कुरा भएको छ ।’
रोहिंग्या शरणार्थी नेपाल आएर काठमाडौंको कपनमा करिब ४ सय जना बसेको पाईयो नि यसबारेमा तपाईको धारणा के छ भनेर सोधिएको एक प्रश्नमा मन्त्री शर्माले भने,‘मैले पनि यसबारेमा सुचना पाएको छु, गृहप्रशासन यसबारेमा पूर्ण रुपमा सजग छ, नीजी जग्गा लिएर घर निर्माण गरेको पनि सुचना आएको छ, हामीले सतर्कता अपनाएका छौं ।’
उक्त विषयको बारेमा आफूले अध्ययन गर्न विशेष मातहातलाई आवश्यक निर्देशन समेत दिईसकेको उनको भनाई थियो । उनले थपे,‘अब थप आउन नदिने र आएकाहरुलाई फिर्ता पठाईउने उनले बताए ।
प्रतिक्रिया