वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउँदै राष्ट्रिय एकता पार्टीले भन्यो,‘नेपालमा राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ’

अर्थटुडे
२०७४ आश्विन ३, मंगलवार

काठमाडौं । राष्ट्रिय एकता पार्टीले नेपालको संविधान २०७२ लाई खारेज गरेर ०४७ सालकै संविधान लागु गर्नुपर्ने माँग गरेको छ । मंगलबार सो पार्टीले ‘२०७२ को कथित संविधान विरुद्ध’ आयोजना गरेको पत्रकार सम्मेलनमा सो पार्टीले प्रमुख दलहरुको मिलेमतोमा कथित संविधान जारी गरिएको भन्दै त्यसलाई तत्काल खारेज गर्नुपर्ने माँग गरेको हो ।

पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले नेपालको ईतिहाँस बोकेको राजसंस्थालाई अन्यायपूर्ण तवरले फ्याँकिएको आरोप लगाए । उनले भने,‘त्यतिबेला अन्तरिम संविधान लागु गर्नु नै हुँदैन थियो, तर अन्तरिम संविधान जारी गरेर गम्भिर गल्ती गरियो, संविधानको ठाउँमा अन्तरिम शासन व्यवस्था लागु गर्नुपर्दथ्यो, त्यहाँनिर गम्भिर गल्ती भएको छ, नेपालको ईतिहाँसमा यो भन्दा ठूलो भुल अरु केही हुन सक्दैन् ।’

दाहालले तत्कालिन माओवादीसँग बृहत्त शान्ति सम्झौताको नाममा भारतमा १२ बुँदे सम्झौता गरिनु पनि अर्को ठूलो महाभुल भएको टिप्पणी गरे । उनले भने,‘०७२ सालको भुँईचालोको फलस्वरुप प्राप्त संविधानलाई हाम्रो पार्टी, राष्ट्रिय एकता पार्टीले खग्रास चन्द्रग्रहण भनी घोषणा गरेकोछ, जनसाधारणको भाषामा जनउपेक्षित यो कालो संविधान हो ।’ त्यस्तै उनले यो संविधानलाई नेपाली सभ्यता संस्कृतिको कालो धब्बाको समेत संज्ञा दिए ।

उनले आफ्नो पार्टीले असोजको संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको समेत जनाए । उनले थपे,‘शासकहरुले जति नै तामझाम गरी यो संविधान दिवस उत्सव मनाए जनतालाई हर्ष न विश्मात हो ।’

संविधानप्रति कडा आक्रोश पोख्दै उनले अघि भने,‘जनस्तरको दैनिकिमा बदलाब ल्याउन नसक्ने संविधान एक थान कागजको खोष्टो भन्दा केही होईन्, महँगी कालोबजारी, बेरोजगारी र नयाँ खाले द्धन्द्धको बढोत्तरी गर्ने यो संविधान खारेजको भागी छ।’ अध्यक्ष दाहालले अहिलेको नयाँ संविधान ०४६ सालको सन्तुलित भावनाविपरित भएको आरोप लगाउँदै आफ्नो पार्टीले ०४७ को संविधान पूर्नस्थापनाको माग गरेको जानकारी दिए ।

दाहालले दलहरुले जारी गरेको नयाँ संविधान कुनैपनि हालतमा कार्यान्वयन हुन नसक्ने तर यदि कथमकदाचित लागु भए मुलुकमा गृहयुद्ध अवश्यम्भावी रहेको दाबी गरे । उनले थपे,‘हामी मिलेर बसेको नेपालीहरुवीच फाटो र बिग्रह ल्याउने संविधान किन आवश्यक पर्यो र ? अथवा यस्तो भनौं ०४७ को संविधानको बिस्थापनको जरुरी किन भयो ? ०७२ को संविधान निर्माणको औचित्य पुष्टि हुन नसकेकोले आज कालो दिन घोषणा गर्नु परेको हो, यो राजनैतिक
अतिरञ्जना होईन् ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष मुकुन्द प्रसाद अधिकारीले मुलुकमा यस्ता खाले समस्याहरु आउनुमा कथित दलहरु रहेको बताउँदै असन्तुष्टि पोखे । उनले भने,‘मुलुक अहिले आक्रान्त बनेको छ, हाम्रो देश यस्ता विविध असपलता र जर्जरताबाट आक्रान्त बनेको छ, जनदैनिकिमा जटिलता यसका कारण र उत्पादक १२ बुँदे वालाहरु ह्ुन्, हामी १२ बुँदेबाट गुमेको हाम्रो स्पेश फिर्ता लिएर जनतालाई सार्वभौम बनाउन चाहन्छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ