काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ वार्षिक साधारणसभाको बिहीवार काठमाडौंमा उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन् । राजनीतिक क्रान्ति सकिएर मुलुक अब आर्थिक क्रान्तितर्फ अग्रसर गरेको अवस्थामा जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि सहकारी क्षेत्रको प्रभावकारितामा ध्यान दिन उनले आग्रह गरे ।
राज्यले मात्रै देश विकास गर्न सक्दैन, त्यसका लागि नीजि क्षेत्र र सहकारी क्षेत्रको सहभागितामा आवश्यक छ भन्ने संविधानको भावनालाई आत्मसाथ गर्न आग्रह गर्दै उनले जनतासँग रहेको श्रम, शीप र पूँजिको सही परिचालन सहकारीबाट मात्रै संभव रहेको बताए । सहकारीहरुको प्रवद्र्धनका लागि स्थापित भएको सहकारी बैंकले देशका कुना कुनामा शाखा मार्फत जनतालाई सेवा दिने प्रयत्न गरेको भन्दै उनले राज्यले सहकारीमार्फत परिचालन गर्ने बजेट सहकारी बैंक मार्फत परिचालन गर्न सके अझै प्रभावकारीता बढ्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाले सहकारी ऐनसंगै सहकारी बैकलाई स्पष्ट नीतिका साथ अगाडि बढ्ने वातावरण आवश्यक रहेको बताए । उनले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारीको भूमिका बढाउनका लागि सहकारी क्षेत्रले वित्तीय व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिए ।
साधारणसभाबाट राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७३\७४ को कारोबारबाट आफ्ना सेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १४ प्रतिशत मुनाफा प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया