वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदेशी पुरस्कारका नाममा बैकरको मोजमस्ती, राष्ट्र बैंकले लगायो अंकुश

अर्थटुडे
२०७४ पुष ११, मंगलवार

काठमाडौं । विभिन्न विदेशी संस्थाहरुबाट सम्मान तथा पुरस्कार लिने बहानामा बैंकका सिईओ तथा संचालकहरुले मोजमस्ती गर्न थालेपछि नेपाल राष्ट्र बैंकले अंकुश लगाएको छ । मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश गएर पुरस्कार लिनलाई कडाइ गरेको हो ।

राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहायता, चन्दा वा कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सोको प्रतिफल स्वरुप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण गर्न नपाउने उल्लेख गरिएको छ ।

यसैगरी विदेशी निकायबाट सम्मान तथा पुरस्कार लिनका लागि राष्ट्र बैंकबाट पूर्व स्विकृती लिनुपर्ने व्यवस्था गरिएको छ । पुरस्कार लिन जाने बैंकका पदाधिकारीको भ्रमण खर्च मितव्ययी हुनुपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले विदेशी विभिन्न संस्था तथा कम्पनीमा पैसा हालेर पुरस्कार तथा सम्मानका लागि निवेदन दिने र पुरस्कार लिन जाने बहानामा सिइओ र बैंकका पदाधिकारीले विदेश भ्रमणमा उच्च खर्च गर्ने गरेको भेटिएपछि यस्तो रोक लगाएको हो ।

यसैगरी बैंक पदाधिकारीको विदेश भ्रमण खर्च मितव्ययी बनाउनका लागि समेत राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । जसअनुसार विदेश भ्रमणको उदेश्य र उपयोगिताका साथै भ्रमणको अवधि, भ्रमणका लागि लाग्ने रकमको समेत संचालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था छ । यसका लागि २०७४ चैतसम्म कार्यविधि बनाएर लागू गर्नसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ