वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसिको एकीकृत कारोबार चैतदेखि

अर्थटुडे
२०७४ माघ १०, बुधबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एनआईडिसीलाई गाभेर चैतदेखि एकिकृत कारोबार गर्ने भएको छ । बैंकको ५३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दे बैंकको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले मर्जर प्रकृयाको अन्तिम स्वीकृतका लागि माघ २० गते विशेष साधारणसभा आह्वान गरेको जानकारी दिए ।

श्रेष्ठले मर्जरपछि बैंकको व्यवसाय, कारोबार, र नाफामा अझ वृद्धि भई वित्तीय अवस्थामा आउने सुधारले बैंक अझ बलियो भरपर्दो र प्रतिस्प्रर्धी बैंक बन्ने दाबी गरे । बैंकले पुस मसान्तसम्ममा एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरि एक खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालनबाट एक अर्ब ७५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । १३ बर्ष अगाडि खराब कर्जा ६० प्रतिशत भन्दा धेरै रहेको बैंकको खराब कर्जा २.८९ प्रतिशत झरेको छ ।

२०२२ साल माघमा स्थापना भएको बैंकका ६९ जिल्लामा १८० शाखा, १३० एटिएम, १७ एक्सटेन्सन काउन्टर र ९२ शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । बाणिज्य बैंकका हाल दुई हजार १६५ कर्मचारी रहेका छन् भने ५७१ लोकसेवा आयोग मार्फत भर्ना प्रकृयामा रहेको छन् ।

२४ लाख भन्दा बढी ग्राहक रहेको बैंकले आफ्नो नगद कारोबारको ४० प्रतिशत कारोबार विद्युतिय माध्यमबाट हुने गरेको दाबी गरेको छ । ३ लाख ५० हजार ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको बताएको छ । बैंकको डेविट कार्ड प्रयोगकर्ता चार लाख ४१ हजार जना रहेका छन् ।

बैंकले चालू आवको अन्त्यसम्ममा ४४ शाखा, ७० एटिएम र २० शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्ने जनाएको छ । राष्ट्रिय बाणिज्य बैंकले आन्तरिक नियन्त्रण प्रणाली चुस्त बलियो र व्यवस्थित बनाउने जनाएको छ ।

त्यस्तै संगठनात्मक संरचनालाई समयानुकुल बनाई सेवा र निर्णय प्रकृयालाई चुस्त बनाउन प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा म्यानेजमेन्ट अडिट सर्वेक्षणलाई अगाडि बढाएको जनाएको छ । पुस सम्ममा बैंकले दुई अर्ब ७४ करोड अनुदान सहितको कृषि कर्जा प्रवाह गरेको जनाएको छ भने १७ करोड भुकम्प पीडित कर्जा उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ