वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माथिल्लो तामाकोसीको सेयर चैत दोस्रो साता,सहकारी मार्फत पनि आवेदन दिन पाउने

अर्थटुडे
२०७४ फाल्गुन १६, बुधबार

काठमाडौं । माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाले साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरिहेको छ ।
कम्पनीका अनुसार आगामी चैतको १५ गतेदेखि आईपीओ बिक्रीको लागि खुल्ला गरिने छ । कम्पनीले सर्वसाधरणको लागि १५ प्रतिशत र दोलखा जिल्लाबासीका लागि १० प्रतिशत आईपीओ बिक्रीको तयारी गरेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखाबासीका लागि कुल जारी पुँजीको १० प्रतिशत शेयर बिक्री गर्नेछ । अर्थात् १ अर्ब ५ करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर विक्रि गर्ने छ । त्यस्तै आम सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिनेछ ।

कम्पनीले यसअघि नै लगानीकर्ता संस्थाका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्तालाई आईपीओ बिक्री गरिसकेको छ । आइपीओ विक्रिको सम्पुर्ण तयारी पुरा भएको र नेपाल धितोपत्र बोर्डले पनि चाडै नै स्वीकृति दिने संकेत देखिएको कम्पनीले जनाएको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी आयोजना निर्माणमा रहेका आयोजनामध्ये हालसम्कै सबैभन्दा ठूलो आयोजना हो ।

डिम्याट खाता नभएका सर्वसाधरणले पनि सेयर भर्न पाउने

तामाकोशी जलविद्युत आयोजनामा डिम्याट खाता नहुने सर्वसाधरणले पनि आइपीओको लागि आवेदन दिन पाउने छन् । अन्य कम्पनीले बिक्री गर्न लागेको आइपीओमा हितग्राही खाता (डिम्याट) अनिवार्य रहे पनि सजिलोका लागि तत्काल डिम्याट खाता नभएपनि आवेदन दिन पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । करिब १० दिनको अवधि राखेर आईपीओ बिक्री गरिनेछ । आईपीओ बिक्री बन्द भएको पाँच कार्य दिनभित्रै आवेदकलाई बाँडफाँड गर्ने गरी तयारी पनि कम्पनीले गरेको छ ।

शेयर खरिद गर्न अन्य बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीले डि–म्याट खाता अनिवार्य गरिएको छ । तर, उक्त खाता नहुनेले पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले सूचना प्रकाशित गरी डिम्याट खाता बनाउन आवेदन पनि गर्दै आएका छन् ।

दोलखालीले सहकारीबाट पनि आवेदन दिन पाउने

आयोजना प्रभावित दोलखा जिल्लाबासीलाई शेयर खरिदमा सहयोग गर्न सहकारी संस्थामा पनि आवेदन दिन पाउने गरी व्यवस्था मिलाइएको छ । सहकारी संस्थाले डिम्याट खाता खोल्नेदेखि शेयर खरिदका लागि रकम समेत उपलब्ध गराउने गरी आवश्यक तयारी गरेका छन् ।

दोलखामा मात्रै साना ठूला गरी करिब एक सयको हाराहारीमा सहकारी सञ्चालनमा रहेका छन् । ती सहकारीले आवश्यक सबै सहयोग उपलब्ध गराउने तयारी गरेको छ । यस्तै ‘क’ वर्गका वैंक तथा वित्तीय संस्थाले पनि दोलखामा शाखा खोलेका छन् । ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्था पनि उत्तिकै मात्रामा सञ्चालनमा रहेका छन् ।
जिल्ला बासीको श्रेणी विभाजन

कम्पनीले स्थानीय प्रभावितलाई बिक्री गर्न लागेको शेयरमा समेत तीन श्रेणीमा विभाजन गरेको छ । कम्पनीले अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी विभाजन गरेको हो ।

गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित क्षेत्रमा राखिएको छ । यस्तै प्रवेश मार्ग तथा प्रसारणलाइनले छोएकालाई प्रभावित र आयोजनाले कुनै पनि प्रभाव नपारेको दोलखाका अरु गाउँपालिका तथा बस्तीलाई कम प्रभावितको श्रेणीमा राखिएको छ ।

कति कित्ता आवेदन दिन पाइन्छ

कम्पनीका अनुसार स्थानीय दोलखाबासीले न्यूनतम ३० कित्ता शेयर आवेदन दिन पाउनेछन् भने अधिकतम् ३ सय कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कुल आवेदनको आधारमा ३ प्रतिशत अतिप्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत शेयर कम प्रभावितलाई वितरण गर्ने तयारी छ ।

यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्टाएको २४ प्रतिशत शेयर बाँडफाँड गरेको छ । ती निकायलाई बाँडफाँड गरिएको शेयर भने हालसम्म नेपाल स्टक एक्चेन्जमा सूचीकृत भएका छैनन् । साधारण शेयर बिक्री गरेर कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख रकम पुँजी पुर्याउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ