काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीलाई वेवस्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने बताएका छन् । उनले देश विकासका लागि सहकारीको विकल्प नभएको बताउँदै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि सहकारीलाई वेवस्ता गर्न नहुने बताए ।
राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको दोस्रो सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमार्फत नै आर्थिक संमृद्वि हासिल गर्न सकिने भएकोले सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेको बताए ।
“अर्थतन्त्र दुर्तगतीमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालनबाट नै नभएको देश संमृद्वि बन्छ” प्रधानमन्त्रीले भने । सहकारीले प्रकृतिक स्रोत, साधन सदुपयोग गर्न सके मात्र देशले छिटो गति लिन सक्नेमा उनले विश्वास व्यक्त गरे ।
जग्गा खण्डीकरण र प्लटिङ गर्ने गरेकाले कृषि उत्पादन खस्कदै गएको बताउँदै खण्डीकरण भएको जग्गा जमिन एकीकृत गरी सहकारीमार्फत उत्पादनमा जोड दिनुपर्ने उनले बताए । कृषि उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउने दावी गर्दे प्रधानमन्त्री ओलीले सहकारीले कृषिमा लगानी बढाएर व्यापारघाटा कम गर्न सक्ने बताए ।
‘ आर्थिक उत्पादानमा सहकारीको भूमिका बढाउन तपाइहरु भिजन, योजना र प्रतिवद्वतासहित आउनुहोस्, सरकार सहजिकरण गर्न तयार छ’ उनले भने । ‘सहकारीमार्फत देशको मुहार फेर्न सकिन्छ, त्यसका लागि सहकारीको कार्यदिशा स्पष्ट हुनुपर्छ’ उनले भने ।
सोही कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक लोकतन्त्र बलियो नभएसम्म राजनीतिक अर्थतन्त्र बलियो हुन नसक्ने बताए । आर्थिक रुपान्तरणका लागि सहकारी सशक्त माध्यम हुने उनको भनाई थियो ।
‘हामी सहकारीलाई साथमा लिएर देश विकासमा जुट्न क्रियाशील भएका छौं’ उनले भने । खाद्य, स्वास्थ्य, उर्जा, र श्रम व्यवस्थापनमा सहकारीले सशक्त योगदान दिन सक्ने बताउँदै अर्थमन्त्री डा.खतिवडाले भने सहकारी–नीजि, सहकारी सार्वजनिक र नीजि–सहकारी अवधारणमा देश अघि बढ्छ ।
प्रत्येक वर्ष ५ लाख युवाहरु श्रम बजारमा आउने गरेपनि अधिकांश युवाहरु विदेशिन वाध्य भएको तथ्यांक प्रस्तुत गर्दै उनले अब प्रत्येक वर्ष १० लाख युवाले नेपालमै रोजगारी पाउने गरी सहकारीले लगानी गर्नुपर्ने र रोजगारी सिर्जनाका लागि सरकार कटिबद्व रहेको बताए ।
सहकारी ऐनमा कमीकमजोरी भए संशोधन गर्दै अघि बढ्ने बताउँदै अर्थमन्त्री डा. खतिवडाले सदस्य नचिन्ने सहकारी आवश्कय नभएको बताए । उनको सहकारीमार्फत गरिवी शुन्यमा झार्दै उद्यमशिलताको विकास गर्न आवश्यक भएको भनाई थियो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारीले एकीकृत उत्पादनमा जोड दिनुपर्ने बताए । ‘कृषिका सबै क्षेत्रलाई एकीकृत ढंगले अघि बढाउन आवश्यक छ’ उहाँले भन्नुभयो । सहकारीमार्फत आर्थिक रुपान्तरण संभव भएको उनको भनाई थियोे ।
कृषि, व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा आर्थिक विकास हुने बताए । ‘ऐनमार्फत ठूला उद्योगमा सहकारीलाई लगानी गर्ने बाटो खुलेको छ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै आइएलओ नेपालका डाइरेक्टर रिचार्ड हवार्डले दीगो विकासका लागि सहकारीले आर्थिक उत्पादनमा जोड दिनुपर्ने बताए । ‘हामी उत्पादनमा सहजिकरण गर्न तयार छौं’ उनले भने । श्रम व्यवस्थापन सही ढंगले हुन सके आर्थिक रुपान्तरण असम्भव नभएको उनको भनाई थियो ।
युएनडिपी कन्ट्री डाइरेक्टर रिनाउन मेयरले ग्रामीण अर्थतन्त्र बलियो बनाउन सहकारीसँग सहकार्य गर्न सकिने बताए । दुईदिनसम्म सञ्चालन हुने सम्मेलनमा ११ वटा कार्यपत्र प्रस्तुत हुने छन् ।
महासम्मेलनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनाली डा.खिमलाल देवकोटा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया