काठमाडौ । सरकारी कर्मचारीहरु कति सम्म निर्लज्ज र वेपरवाह हुन्छन् भन्ने कुरा स्पष्ट देखिएको छ । सरकारले निक्कै संबेदनशील मानेर सुरक्षित साथा राख्नुपर्ने कागज चट्पटे पोको पार्ने कागजमा परिणत भएको भेटिएपछि सरकारी कर्मचारीहरुको लापरवाही बाहिर आएको हो ।
सहकारी संस्थाहरुको अनुगमन तथा नियमनको जिम्मा पाएको सहकारी विभाग र त्यस मातहतका कर्मचारीहरुको लापरबाही बुधबार नगेन्द्र अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत छरपष्ट पारिदिएका छन् ।
सहकारी विभागले ओरेन्टल सहकारीलाई काटेको पत्र अधिकारीले चनाचट्पटे खादा भेटेपछि सामाजिक सञ्जालमा सो फोटो भाइरल भएको छ । उपसचिव राजन प्रसाद दवाडीले २०६७ कात्तिक १९ गते ओरेन्टल सहकारीलाई तोकिएको विवरण पेश गर्नका लागि १५ दिने पत्र काटेको थियो ।
सो पत्रमा पछिल्लो साधारणसभाको कुल सदस्य संख्या र उपस्थिति संख्या, साधारणसभाबाट पारित गरिएका निर्णयहरु, २०६७ असार मसान्तसम्मको सदस्य संख्या, शेयर पुँजी जगेडा कोष, कुल निक्षेप तथा कुल कर्जाको विवरण सहित १५ दिनमा विभागमा पेश गर्न सो सहकारीलाई पत्र काटिएको थियो ।
त्यसैगरी विभागले ओरेन्टल सहकारीलाई सञ्चालकहरुले संस्थाबाट लिएको कर्जा रकम, कर्जा अवधि व्याजदरको विवरण, सञ्चालकहरुको व्यक्तिगत जमानीमा प्रबाह भएको कर्जा, कर्मचारीहरुले लिएको पेस्की रकम, उदेश्य र अवधि तथा गैरबैकिङ सम्पत्तिको विवरण समेत पेश गर्न भनेको थियो ।
त्यसैगरी उपसचिब दवाडीले काटेको पत्रमा भनिएको थियो—“संस्थाले गैर सदस्यहरुसँगपनि बचत तथा कर्जाको कारोबार गरेकोले गैर सदस्यहरुसँगको कारोबार विवरण र पुँजीकोषको १० प्रतिशत भन्दा बढी रकममा प्रबाह भएका कर्जाहरुको विभागमा विवरण पेश गर ” ।
तर सो सहकारीलाई काटिएको पत्र सहकारी सम्म नपुगेको कारण अहिले सहकारी डुवेको अवस्था छ । सो समयमा सुदर्शन प्रसाद ढकाल सहकारी विभागका रजिष्टार थिए । तर विभागका कर्मचारीहरुले सो पत्र सहकारीमा नपुर्याई फ्याकेपछि ओरेन्टल सहकारी समस्याग्रस्त हुदै आएको थियो ।
सहकारीको बदमासीमा ओरेन्टल सहकारी पहिलो नम्बरमा आउछ । यस सहकारीका अध्यक्ष सुधिर बस्नेत झन्डै ७ अर्ब ठगी गरेको अभियोगमा जेलमा रहेका छन् ।
समस्या ग्रस्त सहकारीको समाधान गर्न विशेष अदालतका न्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोगनै बनेर छानबिन गर्दैछ । यदी सो पत्र ओरेन्टलले समयमा नै पाएको भए आज ओरेन्टलको यो दशा हुने थिएन की ? सरकारी लापरबाहीका कारण ओरेन्टलका सदस्यहरुले पाएको दुखको क्षतिपुर्ति कसले तिर्छ ?
प्रतिक्रिया