काठमाडौं । बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको हिस्सा बढेको छ । बैंकहरुले निक्षेप बढाउनका लागि सर्वसाधारण आकर्षित गर्न मुद्दति योजनामा केन्द्रीत गरेपछि साधारण बचतको हिस्सा घटेर मुद्दति निक्षेपको हिस्सा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४\०७५ को फागुनसम्ममा बैंकिङ क्षेत्रमा २५ खर्व ५४ अर्व निक्षेप रहेको छ । उक्त निक्षेपमध्ये मुद्दति निक्षेपको अंश ४४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकसँग रहेको कुल निक्षेपको ३८.१ प्रतिशत मात्र मुद्दति निक्षेप रहेको थियो । मुद्दति निक्षेपको हिस्सा बृद्धि भएसँगै बचतको हिस्सा भने घटेको छ । ०७४ फागुनसम्ममा बैंकसँग रहेको निक्षेपमध्ये ३६.५ प्रतिशत साधारण बचत रहेको छ । जबकि अघिल्लो वर्षको यसै अवधिमा बचतको हिस्सा ३७.५ प्रतिशत रहेको थियो । यसैगरी बैंकमा चल्ती निक्षेपको अंश पनि बढेको छ । एक वर्षअघिसम्म ७.६ प्रतिशत रहेको चल्ती बचत बढेर ८.१ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलताको) अभाव देखिन थालेको छ । पुँजीवृद्धिसँगै लगानी बढाउने दवावमा रहेका बैंक तथा वित्तीय संस्था नयाँ ऋण लगानीका लागि निक्षेप बढाउन जोड दिएका थिए । निक्षेप बढाउनका लागि बैंकहरुले आकर्षक व्याजदर सहितको मुद्दति निक्षेप योजनाहरु सुरु गरेपछि बैंकिङ निक्षेपमा मुद्दतिको हिस्सा वृद्धि भएको हो ।
बैंकहरुले नयाँ नयाँ योजना सार्वजनिक गरेपनि समग्रमा बैंकहरुमा निक्षेप भने उल्लेख्य बृद्धि नभएको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ । चालु आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.१ प्रतिशतले मात्र बृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.१ प्रतिशतले बढेको थियो ।
बजारमा बैंकहरुबिच एक अर्काबाट निक्षेप तान्ने होडबाजी चलेको र बजारबाट निक्षेप आउन नसकेको बताइएको छ । बैंकहरुले व्याजदर बढाएर निक्षेप तान्ने होडबाजीका कारण बाणिज्य बैंकहरुबिच व्याजदरको विवाद समेत देखिएको थियो ।
निक्षेप बृद्धि हुन नसकेपछि बैंकहरुको कर्जा लगानी पनि खुम्चीएको छ । २०७४ फागुनसम्ममा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.४ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.३ प्रतिशतले बढेको थियो । यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १३.९ प्रतिशत, विकास बैंकहरुको २१.२ प्रतिशत र वित्त कम्पनीहरुको ६.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
लगानी भएको कूल कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । बैंकको कर्जामध्ये समभन्दा बढी आयात कर्जा ६५.७ प्रतिशतले बृद्धि भएको छ । यसैगरी हायर पर्चेज कर्जा ८.८, रियलस्टेट ११.३ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया