वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन बैंकको नाफा बढ्यो तीनको घट्यो, सिभिलको नाफा १२७ प्रतिशत बढ्यो

अर्थटुडे
२०७५ बैशाख १४, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा तीनवटा बाणिज्य बैंकहरुले नाफा बढाएका छन् भने तीनवटा बाणिज्य बैंकहरुको नाफा घटेको छ । शुक्रबार एकैदिन प्रकाशित ६ बटा बाणिज्य बैंकहरुको अपरिष्कृत वित्तिय विवरणले त्यस्तो देखाएको हो । शुक्रबार कृषि विकास बैंक, कुमारी बैंक, सिभिल ,प्रभु बैंक, माछापुच्छ्रे बैंक र नेपाल बंगलादेश बैंकले वित्तिय विवरण सार्वजनिक गरेका थिए ।

नाफा बढाएका बैंकहरु मध्ये पनि सिभिल बैंकले गत बर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाएको छ । बैंकले गत बर्षको सोही अवधिको तुलनामा १२६ प्रतिशत नाफा बढाएको हो । त्यसैगरी कृषि विकास बैंकले १३ प्रतिशत र कुमारी बैंकले ८७ प्रतिशत नाफा बढाएका छन् । त्यसैगरी प्रभु बैंकको ४० प्रतिशत, माछापुच्छ्रे बैंकको १८ प्रतिशत र नेपाल बंगलादेश बैंकले १४ प्रतिशत नाफा घटेको छ ।

सिभिल बैंक 

सिभिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा करिब १२७ प्रतिशतले नाफा बढाएको छ । यो बैंकको लागि चमत्कारिक प्रगति हो । बैंकले यस आर्थिक बर्षको ९ महिनामा ३५ करोड रुपैयाँ नाफा कमाएको छ । गत बर्ष बैंकले १५ करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै बैंकले खुद ब्याज आम्दानी ८९ करोड २८ लाख गरेको छ । बैंकले ३६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि ३४ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले चालू त्रैमासमा खुद व्याज आम्दानी ८९ करोड २८ लाख कमाएको छ । गत बर्षको यही समयको तुलनामा खुद व्याज आम्दानी ७३ करोड ३५ लाखमात्र थियो ।

बैंकको चुक्ता पूँजी ६ अर्ब ९३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ९० करोड रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँको लागि अझै एक अर्ब ७ करोड रुपैयाँ आवस्यक पर्छ । तर त्यसको जोहो पनि बैंकले गरिसकेको छ । पूँजी कोष अनुपात २१.९४ प्रतिशत रहेको बैंकको खराब कर्जा ३.७४ प्रतिशत रहेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा सिभिलले ४६ करोड ९१ लाख राइट ब्याक गरेको छ । जसले खुद नाफा बढाउन मुख्य भुमिका खेलेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२७.५३ रहेको छ ।

कृषि विकास बैंक

बैंकले चालु आर्थिक बर्षको चैतसम्ममा एक अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षमा यस्तो आम्दानी ५ अर्ब १५ करोड रुपैयाँ थियो । २० प्रतिशत बोनस बाँडेर आठ अर्ब ५० करोड चुक्त्ता पूँजी कायम गरेको बैंकले प्रतिसेयर आम्दानी भने २४ रूपैयाँ रहेको छ । जगेडा कोष ११ प्रतिशतले बढेर ९ अर्ब ६४ करोड पुगेको छ ।

कुमारी बैंक
बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा ८७ प्रतिशतले नाफा बढाएको छ । बैंकले चैतसम्ममा ७० अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको छ। निक्षेप संकलन ६१ अर्ब ८४ करोड रुपैयाँ गरि ५६ अर्ब ८४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत आर्थिक वर्षको भन्दा ४० प्रतिशतले नाफा घटेको छ। बैंकले चैतसम्ममा ८६ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको चैतमा एक अर्ब ४४ करोड रुपैयाँ नाफा थियो।

बैंकले खुद ब्याज आम्दानी एक अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ। ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७३ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। निक्षेप तथा ऋण दुबैमा सुधार देखिए पनि नाफामा भने व्याजदरको असर देखिएको छ। साथै पोहोर डुबेको ऋण उठाएर पनि नाफा बढेको थियो।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको यहि अवधिको भन्दा १८ प्रतिशतले कम नाफा गरेको छ। बैंकले चैतसम्ममा ८१ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष बैंकले एक अर्ब रुपैयाँ नाफा गरेको थियो ।
खुद ब्याज आम्दानी एक अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको बैंकले गत वर्ष यस्तो आम्दानी एक अर्ब ७५ करोड रुपैयाँ गरेको थियो। बैंकले ६८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
चुक्ता पूँजी ६ अर्ब ५९ करोड रुपैयाँबाट ८ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ। जगेडा कोषमा एक अर्ब ७९ करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात १५.७२ प्रतिशत रहेको छ भने खराब कर्जा ०.३५ प्रतिशत रहेको छ। प्रतिशेयर आम्दानी १३ रुपैयाँ रहेको छ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको भन्दा १४ प्रतिशतले नाफा घटाएको छ। बैंकले ९ महिनामा ७१ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको ९ महिनामा ८२ करोड ७६ लाख रुपैयाँ थियो। बैंकले ९ महिनाम खुद ब्याज आम्दानी एक अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ। खुद ब्याज आम्दानी बढेपनि कर्मचारी तथा अन्य खर्च बढ्दा नाफामा गिरावट आएको हो।
बैंकले ९ महिनामा ४२ अर्ब ०७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४२ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ५ अर्ब ५१ करोड रुपैयाँबाट ८ अर्ब रुपैयाँ पुर्याएको छ। पूँजी कोष अनुपात १४.१५ प्रतिशत रहेको छ भने खराब कर्जा १.७७ प्रतिशत रहेको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ