काठमाडौं । सरकारले प्रधानमन्त्रीलगायत मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बुधबार वेवसाईटमार्फत सम्पती विवरण सार्वजनिक गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।
२२ सदस्यीय मन्त्रीपरिषद्मा १८ जनाको मात्र सम्पती विवरण सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीको सम्पती श्रीमतिको नाममा
सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकाशं अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको देखिएको छ । श्रीमतिको नाममा सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर, झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १० कठ्ठा जग्गा रहेको छ । यसैगरी माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको छ । त्यस्तै ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ र १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
गोकर्ण विष्टको ऋण ७३ लाख
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विभिन्न बैंकमा ७३ लाख रुपैयाँ ऋण लिएको सम्पती विवरण बुझाएका छन् । उनले गुल्मीको इस्मा गाउँपालिका ४ मा कच्ची घर र दुई कटेरा रहेको र श्रीमति प्रमिला श्रेष्ठका नाममा काठमाडौंको सामाखुसीमा ४० लाख बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । विष्ट र श्रीमतीसँग करिब ७ तोला सुन रहेको छ । गुल्मीको इस्मा गाउँपालिकामा करिब ४० रोपनी र श्रीमती समेतको नाममा विभिन्न बैंकमा ७ लाख २१ हजार ७ सय ४३ रुपैयाँ नगद रहेको विवरणमा उल्लेख छ।
लालबाबुसँग ५५ लाख बचत, सवारीको नाममा एकथान साइकल
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग ५५ लाख रुपैयाँ बचत छ । उनको नाममा बैंकमा २५ लाख र उनकी श्रीमति बिमला तामाङको नाममा ३० लाख रुपैयाँ बचत रहेको छ । श्रीमति बिमलाको नाममा भैसेपाटीमा चार आनाको जग्गा रहेको छ भने सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पण्डितले बताएका छन् ।
पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनको विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।
अर्थमन्त्री खतिवडासँग एक किलो गहना !
अर्थमन्त्री डा.युवराज खतिवडासँग एक किलो गहना र एक करोड ४९ लाख पर्ने घर रहेको छ । बुधबार मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा डा.खतिवडाले सो आफ्नो र श्रीमतिको संयुक्त नाममा रहेको र श्रीमती कमला खतिवडाको नाममा सोही स्थानमा १४ आना जग्गा रहेको उल्लेख गरेका छन् ।
उनले संयुक्त राष्ट्र संघको तलबदेखि निजी बचतबाट जग्गा खरिद गरेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनले उनले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई २४ लाख रुपैयाँ ऋण दिएको सार्वजनिक गरेका छन् । त्यस्तै डा खतिवडासँग १० तोला सुन रहेको उल्लेख गरेका छन् । उक्त सुनको आम्दानी पारिवारिक आम्दानीबाट जोडेको पनि खतिवडाले जनाएका छन् ।
उनीसँग सवारीसाधनको नाममा ९ लाख ६० हजारको मोटरकार रहेको छ।
प्रतिक्रिया