काठमाडौं । नेपालमा जन्मिने नागरिकले जन्मदै करिव २९ हजार रुपैयाँ ऋण बोक्नुपर्ने छ । सरकारले आइतबार जेठ १३ गते सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्गिक बर्ष २०७४ ७५ को ८ महिनामा एक व्यक्तिको भागमा २८ हजार ९६३ रुपैयाँ परेको छ । यो ऋण गत बर्षको तुलनामा ४ हजार ६९३ रुपैयाँले बढी हो ।
गत आवमा प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० रुपैयाँ रहेकामा उक्त ऋण चार हजार ६ सय ९४ रुपैयाँले बढेर २८ हजार ९ सय ६३ पुगेको हो । यो ऋण गत वर्षको भन्दा १९ दशमलव ३ प्रतिशतले बढी हो । चालु आर्थिक बर्षमा सरकारले आन्तरिक ऋण परिचालनमा उल्लेख्य बृद्धि गरेका कारण पनि प्रतिव्यक्ति ऋणमा बृद्धि भएको हो ।
सो तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब पुगेको छ । सो ऋण सरकारले अहिलेसम्म बाह्य मुलुक, बहुराष्ट्रिय दाता र आन्तरिक स्रोतबाट लिएको ऋण हो । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्याले भाग गर्दा आउने ऋण नै प्रतिव्यक्ति ऋण हो । नेपालको जनसख्या सन् २०१८ मा दुई करोड ९५ लाख ९४ हजार १८६ रहेको छ । यो ऋण रकम कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशत हो । तिर्न बाँकी ऋणमा वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत हो । चालू आवको पहिलो आठ महिनामा वैदेशिक अनुदान ३६ प्रतिशत र ऋण ६४ प्रतिशतमात्र उपयोग भएको सर्वेक्षणमा उल्लेख छ ।
चालू आवको आठ महिनामा ६२ अर्ब ५५ करोड रुपैयाँ अनुदान र ८८ अर्ब ३३ करोड रुपैयाँ ऋण गरी एक खर्ब ५० अर्ब ८८ करोड रुपैयाँको वैदेशिक सहायता प्राप्त भएको सर्वेक्षणमा उल्लेख छ । गत आवमा ऋण तथा अनुदान गरी २ खर्ब ५० अर्ब २४ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो ।
सर्वेक्षणअनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०६९\०७० मा गैरबजेटरी संयन्त्रमार्फत् खर्च भएको वैदेशिक सहायताको हिस्सा ३६ प्रतिशत, आव २०७०\०७१ मा २९ प्रतिशत र आव २०७१\०७२ मा ३५ प्रतिशत रहेको थियो ।
जेड १३ गते प्रनिनिधि तथा राष्ट्रिय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले चालू आवमा देखिएको प्रतिव्यक्ति ऋण हालसम्मकै उच्च भएको बताए । उनले गत आवमा २४ हजार दुई सय ७० रहेको यस्तो ऋण त्यसभन्दा अघिल्लो वर्ष आव २०७२÷७३ मा २१ हजार नौ सय ५८ रुपैयाँ रहेको बताए ।
नेपालको प्रतिव्यक्ति ऋण २९ हजार पुगेपनि प्रतिव्यक्ति आय भने उकालो लागेको छ । चालु आर्थिक बर्षको ८ महिनासम्मको तथ्यांकलाई हेर्दा नेपालीहरुको प्रतिव्यक्ति आयमा केही सुधार भइरहेको छ । तथ्यांक विभागको तथ्यांक अनुसार नेपालको प्रतिव्यक्ति आय एक लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा नेपालको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँ अर्थात् ८६६ रुपैयाँ डलर रहेको थियो ।
चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मूल्यवृद्धिमा चाप पर्न थालेको समेत बताए । पछिल्लो समयमा पेट्रोलियम पदार्थको भाउमा भएको बृद्धिका कारण मुल्यबृद्धिमा चाप परेको दावी गरे । सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति ७ प्रतिशतभित्रै राख्ने लक्ष्य राखेको थियो ।
अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभालाई आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेक्रममा शोधनान्तर घाटा २५ अर्ब रुपैयाँ पुगेको र विदेशी विनिमय सञ्चितिले १० महिनाको आयात धान्न सक्निे रहेको जानकारी दिए ।
डा.खतिवडाले कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशतमात्र बचत हुने गरेको तथ्यांक सार्वजनिक गर्दै भने,“राजस्वको वृद्धि सन्तोषजनक भए पनि सरकारी खर्चमा भएको वृद्धिले बजेट घाटा बढेको छ,”।
संघीय सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा तीन प्रतिशत विन्दुले वृद्धि भई १०.४ प्रतिशत पुग्ने सरकारको अनुमान छ । सर्वेक्षणअनुसार चालू अर्थिक वर्षको आठ महिनासम्म विद्युत् उत्पादन ७.४ प्रतिशतले बढेर १ हजार ४५ मेगावाट पुगेको छ ।
प्रतिक्रिया