वीरगन्ज । संघियतासँगै स्थानीय तहहरुले अत्याधिक कर लगाउन थालेपछि व्यवसायी तथा सर्वसाधारणहरुले विरोध गर्न थालेका छन् । सामाजिक संजालहरुमा करको विषयमा व्यापक विरोध हुदै आएकोमा सडकमा समेत आन्दोलन सुरु भएको छ ।
करको विरोधमा आइतबार वीरगन्जमा विरोध ¥यालीसहित प्रदर्शन भएको छ । वीरगन्ज महानगरपालिकाले वृद्धि गरेको अत्यधिक करको विरोधमा कालो ब्यानरमा सेतो अक्षरले लेखेर वीरगन्जका उद्योगी व्यवसायीहरूले सडकमा प्रदर्शन गरेका हुन् । महानगरपालिकाले लगाएको करको दर अत्यधिक भएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा आइतबार बिहान विरोध ¥याली निकाल्दै आधा घण्टा बजार पनि बन्द गराएका थिए ।
व्यवसायीहरूका अनुसार विगतका आर्थिक वर्षमा व्यवसाय करको अधिकतम सीमा १० हजार रहेको थियो भने चालू आर्थिक वर्षको लागि सो करको सीमा २ लाख तोकेको छ । होटल व्यवसायमा करको अधिकतम सीमा ५० हजार रहेकोमा हाल महानगरपालिकाले १ लाख २५ हजार तोकिएको छ । विगतमा स्वास्थ्यसम्बन्धी काम गर्ने क्लिनिक, ल्याब आदिले २ हजार तिर्नुपर्ने शुल्कलाई बढाएर १५ हजारदेखि ५० हजारसम्म कायम गरेको छ । उद्योग व्यापारलाई हानी पुग्ने गरी प्रदूषण एवं सडक सुधार शुल्कको नाममा मालवाहक सवारी साधन प्रवेशमा भन्सार बिन्दुमा नै असुल गर्ने गरी अति महँगो कर एवं औद्योगिक उत्पादनका वस्तुहरू जस्तै सिमेन्ट, फलामे छड आदिमा समेत कर लगाइएपछि विरोध सुरु भएको हो ।
प्रतिक्रिया