काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रीहरुको नियुक्ती गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेका छन् । सो मन्त्रालय शेरबहादुर तामाङको राजीनामा पछि खाली रहेको थियो ।
ढकाल मोरङ ३ बाट निर्वाचित भएका हुन् । उनी तेह्रथुमका स्थायी बासिन्दा हुन् भने ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए ।
त्यसैगरी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल नियुक्त भएकी छन् । उनी यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिइन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भने फोरमका डा. सुरेन्द्र यादवलाई नियुक्त भएका छन् । यादव महोत्तरी ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । संविधान अनुसार मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय मात्र हुनेछ ।
प्रतिक्रिया