वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बीमाको लागि भर्जिन ल्यान्ड हो : भोजराज शर्मा

अर्थटुडे
२०७५ श्रावण २१, सोमबार

नेपालमा बीमा क्षेत्रको ७० बर्षको इतिहास रहेको छ । तर, बीमा संस्थानको स्थापना भएपछि मात्र यसको पुर्णरुपमा अभ्यास भएको हो । व्रिटिसहरुको ठाडो निगरानीमा बीमा संस्थान चलेको थियो । संस्थानका कर्मचारीहरुले राम्रोसँग तालिम पनि पाए । म त्यहीबेलादेखि नै बीमाको सुरुवात भएको मान्दछु । पछि निजी क्षेत्रबाट नेशनल लाइफ एण्ड जनरल कम्पनी आयो । अहिले बीमा बजार फैलिएर २० वटा निर्जीवन बीमा, १८ वटा जीवन बीमा एउटा पुनर्विमा कम्पनी बजारमा संचालनमा छन् । अब बिमा बजारमा माग र आपूर्तिबिच तालमेल ल्याउनुपर्ने अवस्था आएको छ । कहिलेकाही आपूर्तिले पनि माग आफै बढाउने रहेछ ।

कम्पनीहरु वृद्धि भएसँगै यसवर्ष करिव २०\२२ अर्ब निर्जीवन बीमा र ५० अर्ब जीवन बीमाको प्रिमियम पुग्ने देखिएको छ । यो तथ्यांकले बीमाको सेवा क्षेत्र विस्तार भएको देखिएपनि बीमा क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २.५ प्रतिशत मात्र योगदान छ । यसबाट बीमाको विस्तार अझै भएको छैन भन्ने देखिन्छ । यो बर्ष नयाँ कम्पनीहरु आएका छन् अब बीमाको बजार दु्रत रुपमा बढ्नुपर्छ । द्रुत गतिमा हिड्नका लागि विभिन्न योजनाहरु गर्नुपर्दछ । अहिले बजारमा प्रतिष्पर्धा भइरहेको छ । जसले गर्दा बजार विस्तार पनि द्रुत गतिमा नै अगाडी बढ्ने छ । प्रतिष्पर्धा स्वस्थ हुनुपर्छ र त्यसको निगरानी बीमा समितिले गर्छ । विगत पाँच दशकमा जसरी क्रमिक रुपमा विकास भएको थियो अबको एक दशकमा त्यसको तेव्बर विकास हुन्छ । जनतामा बीमा सम्बन्धी चेतना र आयमा पनि वृद्धि भएको छ जसले गर्दा बीमाको बजार व्यापक बृद्धि हुने सम्भावना छ । सरकारले पनि विभिन्न क्षेत्रमा बीमालाई अनिवार्य गरेको छ । जसले गर्दा पनि बीमाको दायरा फराकिलो भएको छ । लघुबिमा, स्वास्थ बीमा, कृषि बीमा लगायतका बीमाहरु पनि बजारमा आएको छ ।

जागरुकता जरुरी
बीमा गर्नु अपरिहार्य छ भनेर जसले बुझ्दछ र त्यसलाई सांस्कृतिक रपमा अपनाउँछ त्यसलाई बीमा जागरुकता भनिन्छ । आफ्नो सम्पत्ति र आफ्नो शरीरको जोखिम हस्तान्तरण गर्ने चेतना जब आउँछ त्यो जागरुकता हो । बीमा गर्नुपर्छ भन्दैमा जागरुकता हुदैन । घरमा बर्थडेको केक काटेर अनावश्यक उपहार दिनु भन्दा जन्मदिनमा बीमा पोलीसी किनेर उपहार दिनु राम्रो हो । यसलाई कल्चरको रुपमा विकसित गर्न सकिन्छ । बीमाको बातावरण नै छैन भनेर बसेर बीमा सम्बन्धी चेतना अगाडी बढ्दैन । विकसित देशमा बीमा नगरीकन मानिसहरु कही जादैनन् । तर, यहाँ तेस्रो पक्ष बीमा समेत अनिवार्य गर्नुपरेको छ । बीमा आफ्नो लागि नभएर पुलिस वा अन्य कसैको लागि गर्ने प्रचलन छ । अहिले पो तेस्रो पक्ष बीमा पाँच लाख रहेको छ यदी कानुन परिवर्तन भएमा जति पनि हुनसक्छ । आफ्नो जोखिम हस्तान्तरणका लागि बीमा गर्नुपर्दछ ।

बीमा समितिले जनचेतना अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म बीमा भनेर एउटा कार्यक्रमहरु चलाइरहेको छ । भने विभिन्न गाउँगाउँमा गएर सरकारी स्कुलमा गएर कक्षाहरु लिइरहेका छौ । समितिले टेनिङ सेन्टर पनि खोल्दै छ ।

समितिले नयाँ नीति र चुक्ताँपुँजी वृद्धि गरेपछि नयाँ कम्पनीहरु कमै बजारमा आउँछन् भन्ने लागेको थियो । तर १३ नयाँ कम्पनीहरु बजारमा आए सबै नियम पुरा गरेर । पछिल्लो समयमा रेमिट्यान्सका कारण पनि गाउँगाउँमा पनि जीवन बीमा भइरहेको छ । अर्कोतर्फ बीमा सम्बन्धी मानिसहरुले बुझीरहेका छन् अर्को अनिवार्य जीवन बीमाको कारण पनि बीमा गर्नेहरु बढीरहेका छन् भने धेरै कम्पनीहरु बजारमा आएपछि उनीहरुले नाफा कमाउनका लागि जहाँ बीमा पुगेका छैनन् त्यहाँ पनि उनीहरु गए । अब सरकार स्थायी भएको छ, स्थायीत्व भएपछि राम्रो प्रोजेक्ट आएर धेरैले एकैस्थानमा काम गर्ने मौका पाएभने उनीहरुको पनि बीमा अनिवार्य रुपमा हुन्छ तब बीमाको बजार बढ्छ । यदी श्रम नियमावली आएर पुर्णरुपमा लागु भएमा अहिले भएका बीमा कम्पनीहरुलाई भ्याइ नभ्याइ हुन्छ । त्यसमा प्रत्येक श्रमिकले ७ लाखसम्मको जीबन बीमा अनिवार्य रुपमा गर्नुपर्दछ भनिएको छ ।

अहिले आवासयोग्य घरहरुको बीमा अझै भएको छैन । बीमाको मार्केटिङ र बीमाको अभिकर्ताहरुले त्यहाँ ध्यान पुर्याएका छैनन् कीनकी त्यहाँबाट आम्दानी कम आउने गरेको छ । कम आम्दानी भएको क्षेत्रको धेरै बीमा गराउनुपर्दछ । किनकी त्यसले बीमा कम्पनीलाई सवल गराउनका लागि ठूलो मद्धत गर्दछ । अहिले त ठूलो व्यवसाय र गाडीतिर मात्र बीमाका अभिकर्ता र मार्केटिङको आँखा गइरहेको छ । आवास बीमा गर्दा सम्पुर्ण चिज कभर हुनेगरी बीमा गरिन्छ । आवास बीमा गरिएन र विपत्ति आयो र नोक्सानी भयो भने त्यो मानिसको एक पुस्ता नै समस्यामा पर्दछन् । यदी बीमा गरेर जोखिम हस्तान्तरण भएमा कुनै विपत्ति परेमा पनि कुनै समस्या हुदैन ।
आय नै नभएकाहरुको खण्डमा भने सरकारसँग मिलेर बीमाको पोलिसी लिएर जानुपर्दछ । गरिवीको रेखामुनी रहेका मानिसहरुलाई पनि बीमाले समेट्नु पर्दछ । यदी कम्पनीहरुले स्वाचुरेट गरेको खण्डमा बीमा कम्पनीहरुलाई बजार यथेष्ट रहेको छ । अभिकर्ताहरुले झुक्याएर बीमा गर्ने गरेका पनि छन् भने कहिलेकाही बीमा कम्पनीहरुले बीमा गरेको दाबी भुक्तानी नदिन पाएपनि हुने भन्ने खालको सोच पनि रहेको छ । त्यो दुवै प्रथालाई बीमा समितीसम्म आएको खण्डमा त्यस्ता समस्यालाई समाधान पनि गरिरहेको छ । धेरै स्थानमा ग्राहकको पक्षमा नै निर्णय भएको छ ।

बीमा समितिको नियमनकारी भुमिका राष्ट्र बैंकको तुलनामा केही कमजोर हो । राष्ट्र बैंक २०१३ सालमा र बीमा समिति २०२५ सालमा आएको हो । बैंक भनेको सबैले छिट्टै बुझे तर विमा समितिको प्रभावकारी त्यतिबेला थिएन । पहिले समितिले दर्ता लगायतका काम मात्र गर्दथ्यो । पुर्वाधार पनि थिएन । बीमा समितिले केही काम गर्न सुरु गरेको भनेको २०५९ सालको बिमा ऐन आएपछि बीमालाई स्वायत्त जस्तो भयो । अनि बिमा कम्पनीको नियमन गर्ने गर्न थाल्यो । सुशासन नै भनेर आएको त करिव ३÷४ साल मात्र भयो । अहिले धेरै राम्रो भइरहेको छ । सुशासन विस्तारै प्रभावकारी बन्दै आएको छ । बैकिङ हाराहारीमा नै सुसाशन हुन्छ । अबचाही बीमा समिति सुशासनमा कमजोर छ भन्न मिल्दैन ।

बिमा र बैकिङमा फरक छ । यहाँ बचनको आधारमा र प्रिमियको आधारमा काम गर्नुपर्ने हुन्छ । बैंकले कर्जा र निक्षेपमा मात्र काम गर्दछ र राम्रो नाफा कमाउछ तर बिमाले कमाएको रकमको ५० प्रतिशत रिजर्भमा राख्नु पर्दछ । बीमालाई बलियो बनाउनका लागि उनीहरुले कमाएको सबै नाफा खान दिने गरेका छैन । ९० प्रतिशत बिमा धारकलाई छुट्याएर बाँकी १० प्रतिशत मात्र लगानीकर्ताहरुले बाड्न पाउछन् निर्जीवनमा । समितिले भुकम्प जानुभन्दा दुई बर्ष अगाडी भुकम्पको बीमा गर्नका लागि अनिवार्य गरेका थियौ जसले बिमकको भुकम्पले ठूलो नोक्सानी गराउन सकेन ।

भविष्य
बीमा क्षेत्रमा जनचेतना बृद्धि हुदै छ र गरिदै छ । यो रणनीतिक रुपमा गरिदै छ । त्यस्तै बीमालाई कल्चरको रुपमा लैजानको लागि शिक्षामा पनि जोड दिदै आइएको छ । आर्थिक स्थायित्वको परिकल्पना, निर्माणका योजनाले गति लिने आशा, यातायातको विकासमा पनि बृद्धि हुदैछ । कृषि बिमा पनि विस्तारै बढ्दै छ । किनकी दावी पर्ने वित्तिकै उनीहरुले दावी भुक्तानी पाएका छन् । अहिले अभिकर्ताहरु पनि पुगेका छन् भने लघुविमाको प्रवद्र्धन पनि सुरु भएको छ । सामाजिक धारणामा पनि परिवर्तन आएकोले अबको एक दशकमा बीमाले राम्रो प्रगति गर्छ । बीमा बजार माथि जान्छ । अहिलेसम्म नेपाल बीमाको लागि भर्जिन ल्यान्ड हो ।

(बीमा समितिका सल्लाहकार समेत रहेका बीमाविज्ञ शर्मासँग गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ