काठमाडौं । तालिम, सेमिनार तथा गोष्ठीका साथै अध्यान भ्रमणका नाममा संस्थाको पैसा खर्च गरेर विदेश घुम्ने र मोजमस्ती गर्ने प्रवृत्ति सहकारी क्षेत्रमा मौलाउदै गएको छ । विदेशमा हुने स—सानो कार्यक्रममा समेत प्रारम्भिक संस्थादेखि केन्द्रीय तथा राष्ट्रिय सहकारी महासंघ सम्मका पदाधिकारी र उच्च तहका कर्मचारीहरुको जम्बो टोली नै सहभागी हुन थालेपछि गरिव नेपालीले सहकारीमा जम्मा गरेको अर्वौ रकम फजुल खर्च हुन थालेको छ ।
सहकारीमा गलत प्रवृत्ती बढ्दै गएपनि यसलाई नियन्त्रण गर्न न त नियामक निकायको आँखा पुगेको छ, न सहकारीका संघहरुको नै । यस्ता प्रवृत्तिलाई सुधार गर्नुपर्ने जिम्मेवारी बोकेका माउ निकायहरु नै उल्टै गलत कामलाई बढावा दिदै क्षणिक फाइदामा लागेको पुष्टि भएको छ । गत सेप्टेम्बरको १३ देखि १५ तारिखसम्म फिलिपिन्सको मनिलामा एसोशिएसन अफ एसियन कन्फेडेरेसन अफ क्रेडिट युनियन (अक्कु) फोरम भयो । फोरममा नेपालबाट अधिकतम दुई दर्जनको सहभागिता भएमानै पर्याप्त हुन्थ्यो । तर, सहकारीका संघहरुको राजनीति र प्रतिस्पर्धाले आवश्यक्ता भन्दा ५ गुणा बढी सहभागी भए, जसबाट सहकारीको साढे २ करोड रुपैयाँ स्वाहा भयो ।
अक्कु फोरममा २३ देशबाट ५६१ जनाको सहभागिता रहेकोमा नेपालबाट मात्रै ११७ जनाको सहभागिता थियो । अक्कुको सदस्य संस्थाका रुपमा राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बिच कसले धेरै सहभागिता गराउने भन्ने प्रतिस्पर्धा नै भयो । फलस्वरुप बैंकबाट ६१ जना र नेफ्स्कूनबाट ५६ जना सहभागि भए । कार्यक्रममा सहभागिताका लागि सहभागिले तिर्नुपर्ने इन्ट्री फि, हवाइजहाज लगायतको न्यूनतम खर्च पनि २ लाख रुपैयाँ भन्दा बढी थियो । जसबाट सहकारीकर्मीको साढे २ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
निर्वाचन सहितको साधारणसभामा नेपालबाट अक्कुमा २ भोटको अधिकार छ । जसका लागि २ जनाको प्रतिनिधित्व आवश्यक थियो । यसैगरी सहकारी बैंक र नेफ्स्कूनका सिइओका साथै नेफ्स्कूनकै संचालक शान्ति अधिकारीको कार्यपत्र प्रस्तुती गर्ने भूमिका रहेको थियो । यसैगरी एक्सेस अवार्ड प्राप्त गर्ने संस्थाहरु सहित २५ देखि ३० जनाको सहभागिता उचित थियो । अत्याधिक सहभागिताले नेपाली सहकारी अभियानकै गलत सन्देश गएको कार्यक्रमका एक सहभागिले बताए ।
कार्यक्रम भन्दा एक साता अघि नेफ्स्कूनका उपाध्यक्ष परितोष पौड्यालले नेतृत्व गरेको टोली अस्ट्रेलिया घुमेर अक्कु फोरममा सहभागि जनाउने भने पनि एक दिन ढिला पुगेको थियो । जसका कारण होटल रुम मिलाउन आयोजकलाई हम्मे हम्मे परेको थियो । कार्यक्रममा नेपालको उच्च सहभागिता भएपनि उपलब्धी भने निराशाजनक भयो । अक्कुको बोर्ड सदस्यमा नेपालबाट नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेतले उम्मेदवारी दिएपनि लज्जास्पद हार व्यहोर्नुपर्यो ।
एजेन्ट बन्दै संघहरु
प्राय : विदेशमा हुने सहकारीका कार्यक्रममा सिधै सहभागि हुन पाइदैन । कार्यक्रम आयोजना गर्ने संस्थाको सदस्यको सिफारीसमा मात्र सहभागिता हुन पाइन्छ । आईसीए, अक्कु, ओक्कुलगायतका संस्थाका कार्यक्रममा सहभागि छनोट गर्ने र सिफारीस गर्ने अधिकार संघहरुलाई नै हुन्छ । तर, सहकारीका संघहरुले प्रोसेशिङ शुल्कका नाममा चर्को रकम उठाउने र अत्याधिक व्यक्तिलाई सहभागिताका लागि सिफारीस गर्दै आएका छन् । संघका संचालकहरुले विदेशमा सहभागी हुने कार्यक्रममा आफ्नो पनि खर्च बेहोर्ने सर्तमा पनि ठूला संस्थाका पदाधिकारीलाई सिफारीस गरेर लैजाने गरेको समेत सहकारी क्षेत्रमा चर्चा छ ।
अमेरिका युरोपलगायतका आकर्षक देशमा हुने कार्यक्रममा त संघहरुमा थेगिनसक्नुको चाप हुन्छ । कतिपय सहकारीहरु कार्यक्रममा सहभागिताको नाममा विदेश उड्ने र उतै हराउने गरेकाले संघहरु समेत बदनाम हुन थालेका छन् । २ वर्ष अघि क्यानडामा भएको आइसिए कार्यक्रममा राष्ट्रिय सहकारी महासंघले सिफारीस गरेका एक व्यक्ति उत्तै भासिएका थिए ।
कहाँबाट आउछ खर्च ?
सहकारीका अधिकांश कार्यक्रमहरु आफै खर्च ब्यहोर्ने (सेल्फ पेड) प्रकृतिका हुन्छन् । भारतबाट प्राप्त केही तालिमका कार्यक्रमबाहेक अन्य तालिम कार्यक्रममा सहभागीले आफै खर्च गर्नुपर्ने हुन्छ । कार्यक्रम आयोजकले लिने प्रवेश शुल्कदेखि आतेजाते टिकट, होटललगायतको खर्चका कारण सानो कार्यक्रममा भाग लिन पनि लाखौं खर्च गर्नु पर्छ । तर गरिवहरुको अभियान भनेर चिनिने सहकारी अभियानका केही व्यक्तिहरु लाखौं खर्च गरेर कसरी नियमित विदेश उड्छन् सबैको चासोको विषय बनेको छ ।
सहकारी क्षेत्रका जानकार एक लेखापरिक्षकका अनुसार केही सहकारी संस्थाहरुले बार्षिक रुपमा भ्रमण कार्यक्रम भनेर बजेट छुट्याए पनि अधिकांश संस्थाहरुले शिक्षा तथा तालिम कोषको पैसा दुरुपयोग गर्ने गरेका छन् । कतिपय संघका शक्तिशाली संचालकहरुले प्रारम्भिक संस्थालाई प्रभाव र दवावमा पारेर आफ्नो खर्च ब्यहोर्ने गरेको समेत स्रोतले जानकारी दिएको छ । आम सदस्यहरुलाई सहकारी र उद्यमशिलताको शिक्षा तथा तालिममा खर्च गर्नुपर्ने कोष केही सिमित संचालक र उच्च कर्मचारीले मोजमस्तीमा खर्च गरेपनि यसमा सदस्य र नियामकको आखा पुग्न सकेको छैन ।
उपलब्धी शुन्य
सहकारी कार्यक्रममा नेपालीको सहभागिताका आधारमा अनुमान गर्ने हो भने नेपालको सहकारी अभियान व्यवस्थित र गुणस्तरिय हुनुपर्ने हो । तर, अहिलेसम्म नेपाली सहकारी अभियान व्यवस्थित हुन नसक्नुले विदेशमा सिक्न भन्दा पनि घुमघाम र मोजमस्तीमै वित्ने गरेको आरोपलाई पुष्टि गर्छ । एक बैदेशिक कार्यक्रममा सहभागीले सुनाएको अनुभव अनुसार नेपालबाट जाने सहभागिहरु कार्यक्रममा पुरा समय बस्दैनन् । उनीहरु कार्यक्रममा प्रवेश गरेपछि घुमघाम र आफ्ना व्यक्तिगत काममा जोड दिने गरेका छन् ।
स्पष्ट कार्यविधि आवश्यक छ
नेपालबाट अध्ययन तथा भ्रमण, तालिमका साथै सेमिनार गोष्ठीमा सहभागिताका लागि सहकारीकर्मीहरु विदेश जाने गरेका छन् । नेपालका सहकारी संघसंस्था विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा सदस्य भएकाले सदस्य संस्थाको कार्यक्रममा प्रतिनिधित्वका लागि समेत जानुपर्ने हुन्छ । यसबाहेक सहकारीबारे अन्तर्राष्ट्रिय अनुभव सिक्न, क्षमता अभिवृद्धि गर्न, अन्तर्राष्ट्रि नेटवर्किङका लागि समेत यस्ता कार्यक्रम प्रभावकारी हुन्छ । पछिल्लो समयमा सहकारीका बैदेशिक कार्यक्रमहरुमा धेरै व्यक्तिहरु सहभागीता विकृतिको रुपमा पनि देखिएको छ । असम्बन्धित व्यक्तिहरु पनि कार्यक्रमको नाममा जाने र कार्यक्रममा सहभागी हुने भन्दा पनि घुमघाममा केन्द्रीत हुने पनि पाइएको छ । संचालकहरुका लागि भएको कार्यक्रममा व्यवस्थापक र व्यवस्थापकका लागि भएका कार्यक्रममा संचालकको सहभागिता भएको पनि देखिन्छ । यसैगरी एउटै कार्यक्रममा एउटै संस्थाका एक भन्दा बढीको सहभागिता पनि देखिन्छ ।
पछिल्लो समयमा यो सहकारीमा विकृत्तीका रुपमा देखिएको छ । यसलाई व्यवस्थित गर्न संघहरुले विचार पुर्र्याउनुपर्ने देखिएको छ । कस्ता कार्यक्रममा कस्ता व्यक्तिलाई सहभागी बनाउने ? एउटा संस्थाबाट कति व्यक्तिलाई सहभागी बनाउने भन्ने विषयमा स्पष्ट कार्यविधि आवश्यक छ । राष्ट्रिय सहकारी महासंघले बैदेशिक भ्रमणबारे कार्यविधि बनाए पनि त्यो यहाँका संचालक र कर्मचारीका लागि मात्र छ । यसलाई अझ विस्तृत गरेर सदस्य संस्थाका प्रतिनिधिको सहभागिताबारे पनि थप स्पष्ट पार्नुपर्ने आवश्यक्ता देखिएको छ ।
वर्तमान सहकारी मासिकबाट साभार
प्रतिक्रिया