वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरोकारवालाको प्रश्नः इन्टरनेट नै छैन, कसरी कोपोमिस सञ्चालन गर्ने ?

अर्थटुडे
२०७५ कार्तिक २९, बिहीबार

काठमाडौं । सरकारले सम्पुर्ण सहकारीहरुको विवरण एउटै सफ्टवेयरमा राख्ने सोचका साथ कोपोमिस प्रणाली लागु गर्यो । तर यसको कार्यान्वयनमा भने निक्कै चुनौति रहेको सरोकारवालाहरुले बताएका छन् । ललितपुर महानगरपालिकाका सहकारी विभाग प्रमूख चिरन्जीवी पौडेलले ललितपुर महानगरपालिकाको सहकारी विभागमा इन्टरनेट जडान नभएको दुखेसो पोखे ।

कोपोमिस प्रणाली कार्यान्वयनका लागि सबैभन्दा पहिले सम्पुर्ण स्थानीय तह र सहकारी संस्थाहरुसँग इन्टरनेट सेवा जडान गरिनु पर्दछ । तर देशकै राजधानी नजिक रहेको र सुविधा सम्पन्न ललितपुर महानगरपालिकामा समेत सहकारी विभाग हेर्ने निकायमा अझै इन्टरनेट जडान भएको छैन ।

सहकारी पत्रकार समाजले विहिबार गरेको सहकारीमा कोपोमिसको अवस्था र चुनौति विषयक अन्तक्रियामा बोल्दै पौडेलले इन्टरनेटको अभावमा आफ्नो क्षेत्राधिकारभित्र रहेका ११ सय भन्दा बढी सहकारीहरुको अनुगमन र नियमनमा कठिनाइ भएको बताए ।

“अझैपनि हामीले इन्टरनेट सेवा पाउन सकेका छैनौ हामी आफै कोपोमिसमा आवद्ध हुन सकेका छैनौ भने कसरी अन्य सहकारी संस्थाहरुलाई कोपोमिसमा आवद्ध हुनका लागि आग्रह गर्ने ? कसरी हामीले नियमन र अनुगमन गर्ने ?” उनको प्रश्न थियो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कोपोमिस कार्यान्वयनका लागि महासंघले प्रारम्भिक सस्थाहरुसँग समन्वय र सचेतनामूलक कार्यहरु गरिरहेको बताए । उनले यो प्रणाली कार्यान्वयन हुदा सहकारी संस्थाहरुको एउटै प्रणाली हुने र उनीहरुको बारेमा जानकारी लिनका लागि महासंघलाई पनि सहज हुने बताए ।

त्यस्तै भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले यस प्रणाली पूर्ण रुपमा कार्यान्वयन भएमा सहकारी क्षेत्रका सम्पुर्ण गतिविधिहरुलाई सहज रुपमा नियाल्न र उनीहरुका समस्यालाई समयमा नै सम्बोधन गर्न सहज हुने बताए । उनले सो प्रणाली कार्यान्वयनका लागि सहकारी अभियान र केन्द्रिय सहकारी संघहरुले सकारात्मक भुमिका खेल्नुपर्ने बताए ।

त्यस्तैगरी सो कार्यक्रममा सहकारी विभागका निमित्त रजिष्टार नारायण अर्यालले यो प्रणाली कार्यान्वयनमा आएसँगै विभागलाई सहकारी संस्थाहरुको सहज रुपमा अनुगमन र निरिक्षण गर्न सहज हुने बताए । उनले सहकारी संस्थाका सम्पुर्ण गतिविधिहरु सो प्रणाली मार्फत देखिने हुदा विभागले सहज रुपमा उनीहरुको कमी कमजोरीलाई पहिल्याएर सुधारात्मक कारबाही गर्न सकिने बताए ।

सो कार्यक्रममा सहकारी विभागका सुचना प्रविधि विज्ञ सविन धाख्वाले नेपालमा अहिलेसम्म ३४ हजार ५१२ सहकारीहरु दर्ता भएपनि ३३ हजार १६ सहकारीहरु कोपोमिसमा आवद्ध भएता पनि गत आर्थिक बर्षमा ४४७ वटा सहकारी संस्थाले मात्र विवरण बुझाएको बताए ।

उनले सहकारीमा कोपोमिसको अवस्था र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै चालु आर्थिक बर्षमा अहिलेसम्ममा एकसय भन्दा बढीले विवरण बुझाएको र यो संख्या क्रमशः बढ्दै जाने दावी गरे । उनले कतिपय सहकारी संस्थालाई कसरी र किन विवरण बुझाउने भन्ने विषयमा ज्ञान नभएकोले पनि कोपोमिस प्रणालीमा आवद्ध हुन नचाहेको बताए ।

ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैंकका कार्यबाहक कार्यकारी प्रमूख बद्री गुरागाई लगायतले कोपोमिस कार्यान्वयनका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।

सो कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले कोपोमिसमा आवद्ध हुनका लागि पासवर्ड र आइडि लिएपनि विवरण इन्ट्री गर्ने तरिका थाहा नभएर विवरण नपठाएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ