काठमाडौं । आयातको तुलनामा निर्यात बृद्धि नहुँदा चालु आर्थिक वर्षको फागुनसम्ममा व्यापारघाटा करिब ९ खर्व पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५\७६ को आठ महिनामा ९ खर्व ४९ अर्बको बस्तु आयात हुँदा ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र बस्तु निर्यात भएको छ ।
चालु आवको फागुनसम्ममा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको र चीनतर्फ २७.६ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।
वस्तुगत आधारमा पोलिष्टर, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
यसैगरी आर्थिक वर्ष २०७५\७६ को आठ महिनामा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर रु.९ खर्व ४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.० प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७५\७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले बढेर ८ खर्व ८७ अर्ब ८८ करोड पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा बेहोर्दै आएको छ।
प्रतिक्रिया