काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजबीच सहकारीका समाचारलाई संचारमाध्यममा प्राथमिकता दिने विषयमा छलफल भएको छ । शनिवार भएको कार्यक्रममा सहकारीका समाचार संकलनमा सञ्चारकर्मीहरुले भोग्नुपर्ने पिडा सहकारी अभियन्ताको पत्रकारबारेको धारणा र उनीहरुको व्यवहारलगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीका समाचारहरुले मिडियामा स्थान पर्याप्त नपाएको गुनासो गर्दै राम्रो वा नराम्रो जे भएपनि सहकारीका विषयमा समाचार आउनुपर्ने बताए । उनले भने, “पत्रकारलाई यो लेख वा त्यो लेख भन्ने हैन उसलाई जुन समाचार हो भन्ने लाग्छ त्यही समाचार लेख्छ, हाम्रो अपेक्षा यति मात्र हो की सहकारीका समाचारले पनि मिडियामा ठाउँ पाउनुपर्छ ।”
कार्यक्रममा महासंघकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले छलफबाट पत्रकारको विषयमा आफूलाई स्पष्ट भएको बताइन् । “कतिपय कुराहरु सहकारी अभियानकर्मीबाट पनि कमीकमजोरीहरु भएका रहेछन् भने कतिपय पत्रकारहरुबाट पनि मुख्य कुरा सहकारी पत्रकार र सहकारी अभियन्ताविच कम्युनिकेशको ग्याप भएका कारण पनि एक अर्कालाई राम्रोसँग बुझ्न नसकेको रहेछ” उनले भनिन्, ।
कार्यक्रममा सहकारी पत्रकार समाजको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी नेतृत्वकर्ताहरुले पत्रकारलाई गलत रुपमा बुझेको बताए । अझैपनि सहकारीका अगुवाले पत्रकार र मालिकबीचको भिन्नता छुट्याउन नसकेको भन्दै पत्रकारसँग जति दुरी कायम राख्यो उति नेतृत्वकर्ता पछि पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यपत्रले पत्रकारको काम कर्तव्यबारे राम्रो जानकारी दिएको बताउँदै आगामी दिनमा पत्रकार समाज र महासंघ मिलेर अगाडी बढ्ने बताइन् । यस्तै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, महासचिव चन्द्र ढकाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहालले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया