काठमाडौं । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार अब एसबीआई बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सम्झौता समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागर र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो । उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने, “हामी नेपाल एसबीआई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ ।
अब नेपाल एसबीआई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उनले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आफ्नो बैंक खाताबाट सिधै ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीले नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”
त्यसै गरी नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागरले भने,“हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौँ ।”सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।
प्रतिक्रिया