काठमाडौं । सहकारी संघसंस्थाको व्यवस्थापनमा स्वतन्त्र हुनुपर्छ भनेर वकालत गर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मै संचालकसँगको विवादका कारण दुई जना उच्च व्यवस्थापकले एकैदिन राजीनामा दिएका छन् । अध्यक्ष परितोष पौड्यालका साथै संचालक समितिसँग विवाद वढ्दै गएपछि प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र प्रशासन प्रमुख शिव अधिकारीले राजीनामा बुझाएका हुन् ।
प्रशासन प्रमुख अधिकारीले सिइओलाई र सिइओले संचालक समितिलाई राजीमाना बुझाएका हुन् । अधिकारीको व्यवस्थापनले र सापकोटाको संचालक समितिले राजीनामा स्विकृत गर्नुपर्छ ।
नेफ्स्कूनमा परितोष पौड्यालको नेतृत्वमा नयाँ संचालक समिति आएसँगै व्यवस्थापन र संचालक समितिविच विवाद बढ्न थालेको बताइएको छ । अध्यक्षका साथै संचालकहरुले नियमविपरित व्यक्तिगत फाइदा हुने गरी काम गर्न व्यवस्थापनलाई दवाव दिने गरेको र त्यसलाई स्विकार नगरेको खण्डमा कार्यक्षमतामा प्रश्न उठाउने प्रवृत्ती बढेको नेफ्स्कून उच्च स्रोतले जनाएको छ ।
पछिल्लो समय कोरोना सेन्टरमा सहयोग गर्नेदेखि विभिन्न विषयमा सिइओ र अध्यक्षविच मतभिन्नता बढेको थियो । यसलाई अध्यक्षले ‘आफुलाई सिइओ र व्यवस्थापनले असहयोग गरेको’ रुपमा व्याख्या गरेपछि दुई उच्च व्यवस्थापकको राजीनामा आएको हो ।
समाचार स्रोतका अनुसार पछिल्लो समय नेफ्स्कूनमा संचालकहरुले व्यक्तिगत स्वार्थ अनुसार काम गर्न दवाव बढाउदै आएका छन् । संघको कार्यक्रम गर्ने होटलदेखि स्टेशनरी र विभिन्न सामान खरिदमा आफुलाई फाइदा हुनेगरी काम गर्न संचालकहरुले व्यवस्थापनलाई दवाव दिने गरेको समाचार स्रोतले बताएको ।
यद्यपी राजिनामा गराउनुको मुख्य कारणका रुपमा सिइओ सापकोटाद्धारा लिखित पुस्तकको कारोबारलाई बनाइएको छ । सिइओ सापकोटाद्धारा लिखित सहकारीको नतिजामुखी व्यवस्थापन पुस्तक नेफ्स्कूनमार्फत विक्री गर्ने गरी अग्रिम भुक्तानी दिइएको थियो । उक्त विषयलाई त्रुटी देखाएर संचालक समितिले सापकोटा र अधिकारीलाई राजीनामा गर्नु वा नगरेमा कारवाही गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि दुवैले राजीनामा बुझाएका हुन् ।
अधिकारीले भदौ १९ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका छन् । नेफ्स्कुनमा १८ वर्ष सेवा गरेका उनले कामु सिइओकोसम्म जिम्मेवारी सम्हालेका छन् । संघका २० वर्ष सेवापश्चात अवकास लिने सोचमा रहेका अधिकारीलाई अध्यक्ष र संचालकसँग विवाद बढेपछि १९ वर्ष सेवाअवधि पुग्ने गरी राजीनामा गरेका हुन् ।
यसैगरी १३ वर्षदेखि संघमा काम गर्दै आएका सापकोटा २०७२ सालदेखि सिइओको जिम्मेवारीमा छन् । उनको यो कार्यकाल असार १९ गतेसम्मका लागि थियो । संचालक समितिले कार्यकाल नथप्ने भएपनि उनले राजीनामा गरेका हुन् ।
नेफ्स्कूनको आगामी साता चितवनमा बस्ने संचालक समितिको बैठकले नयाँ सिइओ नियुक्तीबारे निर्णय गर्नेछ । स्रोतका अनुसार तत्कालका लागि संघले डेपुटी सिइओ प्रकाश प्रसाद पोखरेललाई निमित्त जिम्मेवारी दिने र कार्यसम्पादन संन्तोषजनक भएमा पूर्ण जिम्मेवारी दिने तयारी गरेको छ ।
प्रतिक्रिया