काठमाडौं । कोभिड–१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्दै जादा सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा आउने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु संक्रमित हुन थालेका छन् । बुधबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा पनि संक्रमण भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत सहायक तहको कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि उक्त विभागका कार्यरत सबै कर्मचारीहरुको पिसिआर टेस्टका लागि स्वाव संकलन गरिएको छ ।
यसअघि राष्ट्र बैंकको विराटनगर शाखामा कार्यरत तीन जना कर्मचारीमा संक्रमण भएको थियो ।
कोभिड संक्रमणको जोखिम बढेको भन्दै गत आईतबारमात्र केन्द्रीय बैंकले आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी वित्तीय सेवा दिन र घरबाट काम गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।
केन्द्रीय बैंकले कोभिड—१९ को संक्रमण बढ्दै गएकाले बैंकहरुलाई व्यवसाय निरन्तरतासम्बन्धी योजना बनाउन, प्रदेश सरकार, स्थानिय तह र स्थानिय प्रशासनसँग समन्वय गरी शाखा संचालन गर्न र वैकल्पिक रुपमा आलोपालो गरी शाखा खोल्न र विद्युतिय कारोबारमा प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ ।
हालसम्म काठमाडौं उपत्यकामा विभिन्न बैंकमा कार्यरत एक दर्जन कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ ।
प्रतिक्रिया