वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमा तरलताको सकस

अर्थटुडे
२०७७ असार १८, बिहीबार

काठमाडौं । कोभिड–१९ को संक्रमण र लकडाउन लम्बिदै गएपछि बचत तथा ऋण सहकारी संस्थामा तरलताको समस्या देखिन थालेको छ । सहकारीको दैनिक बचत संकलनका साथै ऋण असुली समेत प्रभावित भएपछि संस्थाहरुलाई बचत फिर्ता गर्न समेत अप्ठ्यारो पर्न थालेको हो ।

गत सातामात्र थानकोटस्थित बन्दना बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै सदस्यहरु प्रहरी कार्यालय पुगेका थिए । लकडाउनपछि संस्थाले कार्यालय बन्द गरेको र बचत फिर्ताका लागि समेत आनाकानी गरेपछि सदस्यहरु उजुरी लिएर प्रहरीकोमा पुगेपनि प्रहरीको रोहवरमा सात महिनाभित्र बचत फिर्ता गर्ने सहमति भएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएसँगै बन्द भएका सहकारी संस्थाहरु लकडाउन खुकुलो हुँदा पनि पूर्ण रुपमा खुल्न सकेका छैनन् । विषेश गरी न्यूरोडलगायतका व्यापारीक क्षेत्रमा संचालित सहकारीले कार्यालय संचालन हुन सकेका छैनन् ।

संघिय र प्रदेश सरकारहरु सूचना नै जारी सहकारीहरुलाई नियमित सेवा प्रवाह गर्न निर्देशन जारी गरेका छन् । लकडाउन खुकुलो बनाएपछि पनि असार पहिलो साता संघिय सहकारी विभागले सहकारीको सेवा नियमित बनाउन सूचना जारी गरिसकेको छ ।

समूदायमा आधारित संस्थामा संकट नहुने भएपनि व्यापारीक हिसावले चलेका केहि सहकारीमा मात्र संकट पर्नसक्ने सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डे बताउछन् । “अहिल्यै तरलताको संकट परिसकेको जानकारी आएको छैन” उनले भने, “व्यापारीक हिसावले चलेका सहकारीमा समस्या पर्नसक्छ ।” विभागले देशभरका केहि नमुना सहकारीबाट तथ्यांक संकलन गर्दा बचत बढेको देखिएको उनले बताए ।

नेपालमा वित्तीय पहुँचमा २५ प्रतिशत हिस्सा ओगटेको सहकारी क्षेत्रले बाणिज्य बैंकपछिको ठूलो कारोबार गर्दै आइरहेको छ । तर, सहकारीको कारोबारलाई अनुगमन गर्ने नियामक निकाय नहुँदा संस्थाहरुले आफुखुशी लगानी गर्ने गरेका छन् । जसको कारण आर्थिक संकट आउदा सहकारी संस्थाहरु अप्ठ्यारोमा पर्ने गरेका छन् ।

नियमित रुपमा अनुगमन नभएका सहकारी संस्थाहरुले जोखिम मूल्यांकन नगरी जथाभावी लगानी गरेका छन् । यसैगरी लगानीको विविधिकरण नभएको, जोखिम व्यवस्था नगरीएको, अनुत्पादक क्षेत्रको लगानी र पर्याप्त तरलता समेत नराखिएका कारणले सहकारी क्षेत्रमा समस्या आउन सक्ने आंकलन गरिएको छ ।

तरलताको समस्या आउन सक्ने भन्दै सहकारी संघसंस्था व्यवस्थापनमा जुटेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकले एक/एक अर्वको तरलता कोष कार्यान्वयमा ल्याएका छन् । यसबाहेक जिल्लास्तरिय संघहरुले पनि यसका लागि तयारी गरिरहेका छन् ।

हाल नेपालमा ३५ हजार सहकारी दर्ता भएकोमा १४ हजार बचत तथा ऋण सहकारी छन् । अन्य विषयगत सहकारीहरूले पनि बचत तथा ऋण कारोबार गर्दै आएका छन् । सहकारीहरूले अवलम्बन गरिएको पल्स मनिटरिङ सिस्टममा संस्थाहरूले न्यूनतम १४ प्रतिशत तरलता कायम गर्नुपर्छ । तर, अधिकांश सहकारीहरूले यसअनुसार तरलता व्यवस्थापन गरेका छैनन् । हाल सहकारी संस्थाहरूले ५ प्रतिशत भन्दा पनि कम तरलता राखेर संस्था सञ्चालन गर्दै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ