काठमाडौं । सहकारी संघ संस्थाहरुलाई ऐनले तोकेकै समयभित्र साधारणसभा गर्न संघिय सहकारी विभागले निर्देशन दिएको छ ।
विहिबार सूचना जारी गर्दै विभागले समयमै लेखापरिक्षण गरी बैकल्पिक व्यवस्थाबाट साधारणसभा गर्न निर्देशन दिएको हो । कोभिड–१९ को कारण देखाएर सहकारीहरुले साधारणसभाको गर्ने समय सीमा थप्न आग्रह गरेका थिए ।
सहकारी ऐन–२०७४ मा सहकारी संघ/संस्थाले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरिक्षण र ६ महिनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने प्रावधान छ । यस्तै साधारणसभाका लागि संस्थामा कायम रहेको सदस्य संख्याको ५१ प्रतिशतको उपस्थितिमा अनिवार्य गरिएको छ ।
विभागको सूचना अनुसार संस्थाहरुले विद्युतिय प्रविधिको प्रयोगबाट साधारणसभा गर्न सक्नेछन् । यसरी गरिने साधारणसभालाई सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने र सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारणसभा सकिएको १५ दिनभित्र पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी विद्युतिय प्रविधिबाट साधारणसभा गर्न नसक्ने संस्थाहरुले भने १५ दिनको समय सीमा दिएर सदस्यहरुलाई आलोपालोमा उपस्थित गराई साधारणसभा गर्न सक्नेछन् ।
यसैगरी ऐनको व्यवस्था अनुसार एकाइगत रुपमा साधारणसभा गर्ने संस्थाहरुले पनि भर्चुअल वा १५ दिनको समय दिएर भौतिक उपस्थितीमा साधारणसभा गर्न सक्ने प्रावधान राखिएको छ ।
संस्थाहरुले तोकिएकै समयभित्र लेखापरिक्षण गरी साधारणसभा भन्दा १५ दिन अघि प्रतिवेदन सदस्यलाई पुर्याउनुपर्नेछ । प्रतिवेदन प्राप्त भएपछि सदस्यहरुको सुझाव, सल्लाह र संसोधन प्रस्ताव लिएर साधारणसभाको एजेण्डामा समावेश गर्न पनि विभागले निर्देशन दिएको छ ।
बैकल्पिक व्यवस्थाबाट साधारणसभा गरेपनि ऐन अनुसार कुल सदस्यको ५१ प्रतिशत उपस्थितीको हस्ताक्षर भने अनिवार्य गरिएको छ ।
प्रतिक्रिया