काठमाडौं । नेपालीहरुले युट्युव, फेसबुकलगायतका सामाजिक संजालबाट गर्ने आम्दानी सिधै बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विहिबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक संजालबाट प्राप्त गरेको आम्दानी बैंक खातामा मान्य हुने व्यवस्था गरेको हो ।
‘सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी विक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुनेछन् । स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात्भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमा सम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ ।’ राष्ट्र बैंकको सूचनामा उल्लेख उल्लेख छ ।
हाल नेपाली प्रयोगकर्ताले सामाजिक संजालबाट प्राप्त गर्ने आम्दानी मनि ट्रान्सफरमार्फत् प्राप्त गर्दै आएका थिए । यस्तो आम्दानीलाई पारदर्शी र व्यवस्थित गर्न केन्द्रीय बैंकले बैंक खातामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
यसरी आम्दानी हुने रकम सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै यस्तो कारोवारहरुको मासिक विवरण तोकिएको ढांचामा महिना समाप्त भएको मितिले १५ दिन भित्र राष्ट्र बैंकमा पठाउनेपर्ने उल्लेख छ ।
विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सो को भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारीे निर्देशनको पालना गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया