काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई चुक्ता पुँजी सम्बन्धी प्रावधानमा पनि कडाइ गरेको छ ।
विहिबार लघुवित्त वित्तीय संस्थाका लागि एकिकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले तोकिएको पुँजी पुर्याउन नसक्ने संस्थाहरुले कार्यक्षेत्र प्रदेशभित्र सिमित गर्नुपर्ने प्रावधान तोकेको हो ।
निर्देशनमा लघुवित्तले तोकिएको चुक्ता पुँजी पुरा गरी राष्ट्रियस्तरमा स्तरोन्नति नभएसम्म आप्mनो कारोबार एक प्रदेशमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेको संस्थाले उक्त समयभित्र कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरीसक्नु पर्ने निर्देशन छ । यसका लागि २०७८ असारसम्मको समय दिइएको छ ।
स्थानान्तरणको प्रक्रिया पूरा नगरेसम्म आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्लामा नयाँ शाखा विस्तार गर्न नपाउने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले गत पुसमा लघुवित्तलाई राष्ट्रियस्तरमा संचालन गर्न १० करोड र प्रादेशिकस्तरमा सञ्चालन गर्न २ करोड पुँजी तोकेको थियो । उक्त पुँजी पुर्याउनका लागि २०७७ असारसम्मको समय सीमा दिएको थियो । तोकिएको समय सीमा सकिएपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।
यसअघि साउन दोस्रो साता केन्द्रीय बैंकले लघुवित्तको व्याजदर र सेवाशुल्कमा कडाइ गरेको छ । लघुवित्त वित्तीय संस्थाहरूले ऋणमा १५ प्रतिशत व्याजदर १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया