काठमाडौं । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २२ वर्षमा प्रवेश गरेको छ । बार्षिक उत्सवको अवसरमा संस्थाले बुधबारदेखि एटिएम सेवा र लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको छ ।
संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, घिउको बिक्रि वितरण शुरु गरेको छ । चितवनको खैरहनीमा नेपाल कै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिदैं जाने प्रतिबद्धता जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए । संस्थाले विहिबारबाटै एटिएम सेवा समेत शुरु गरेको छ ।
ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ । संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ ।
तत्कालिन डिभिजन सहकारी कार्यालय ललितपुरमा मिति २०५६ साल भदौ १८ गते दर्ता भई मिति २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री लालीगुराँस राष्ट्रिय मावि/कलेज तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि/कलेज, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारका नीति तथा कानुनले सहकारीलाई संकुचित गर्दै लगेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यक्ता औल्याए ।
प्रतिक्रिया