वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शुक्रपथ बहुउद्देश्यीय सहकारीको लगानी जोखिमपूर्ण

अर्थटुडे
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं । न्यूरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले कानुन विपरित जोखिमपूर्ण रुपमा वित्तीय कारोबार गरेको भेटिएको छ । संस्थाले सहकारी ऐन–२०७४, नियमावली–२०७५ का प्रावधानका साथै संस्थाको लेखासमिति र लेखापरिक्षकले सुझावलाई समेत वेवास्ता गरी नियम विपरित जोखिमपूर्ण कारोबार पाइएको हो ।

सहकारी संस्थाले ऋण लगानी गर्दा नै सहकारी ऐन र नियमावलीले तोकेको प्रावधानहरुलाई पालना गरेको छैन । सहकारी ऐनको व्यवस्था अनुसार सहकारीमा सदस्य बनेको तीन महिनापछि मात्र ऋण लगानी गर्नुपर्ने भएपनि संस्थाले सदस्य बनाउने वित्तीकै ऋण लगानी गरेको पाइएको छ । यसैगरी संस्थाले जोखिमपूर्ण रुपमा विनाधितो ठूलो रकम लगानी गरेको छ ।

संस्थाको वार्षिक प्रतिवेदनमा लेखा समिति र लेखापरिक्षकले समेत संस्थाको यो त्रुटीलाई औल्याएको छ । संस्थाको लेखासमितिको प्रतिवदेनमा ‘केहि कर्जाहरु अझै दुई जना सदस्य हरुलाई व्यक्तिगत जमानी राखी उनिहरुको संस्थामा रहेको बचत, शेयर तथा अन्य कारोबारको आधारमा कर्जा लगानी गरेको पाइयो’ भन्ने जोखिम औल्याएको छ ।
समाचार स्रोतका अनुसार शुक्रपथ सहकारीले ठूलो मात्रामा विना धितो र व्यक्तिगत जमानीमा लगानी गर्ने गरेको छ । संस्थाले ठूलो संख्यामा बजारप्रतिनिधि परिचालन गर्ने गरेको र बजार प्रतिनिधिलाई जमानीमा राखेर समेत ऋण लगानी गर्ने गरेको छ ।

संस्थाका अध्यक्ष नरेन्द्र विष्ट भने जोखिमपूर्ण रुपमा ऋण लगानी नगरेको दावी गर्छन् । ‘ठूलो रकम बिना धितो ऋण लगानी गरेका छैनौं, धेरै जनालाई थोरै थोरै रकम दिदा पनि धेरै देखिएको हो’ उनले भने, ‘यो ठूलो विषय पनि होइन, यसले संस्थामा जोखिम पनि छैन ।’ कति ऋण बिना धितो लगानी भएको छ भन्ने विषयमा भने उनले जानकारी दिएनन् ।

न्यूरोडमा केन्द्रीय कार्यालय रहेको सहकारीले उपत्यकाभित्र चार स्थानमा सेवाकेन्द्र समेत खोलेर कारोबार गर्दै आएको छ ।
२२ करोड शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षसम्ममा १ अर्व ४७ करोड बचत संकलन गरी १ अर्व ४८ करोड ऋण लगानी गरेको छ ।

संस्थाको हालैमात्र सम्पन्न साधारणसभाबाट नरेन्द्र विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उनी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका संचालक समेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ