काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) भित्र संचालक समिति र तथा व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको छ । संचालक समितिले संघका हरेक गतिविधिमा हस्तक्षेप गर्न थालेपछि व्यवस्थापन निरिह हुन थालेको छ ।
संचालकहरुको आदेश नमान्दा एकैपटक तीन जना कर्मचारीहरु संघबाट बाहिरिएका छन् । नेफ्स्कूनका तालिम विभाग प्रमुख तथा सहायक प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिम्मल्सिनाले साउन पहिलो साता नै राजिनामा दिएका छन् ।
यसैगरी अधिकृतद्धय मनोज बुढाथोकी र पेशल कुमार खड्काले पनि साउन दोस्रो साता संघबाट राजिनामा दिएका हुन् ।
यसैगरी संघका सहायक प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ पनि नेफ्स्कून छोेड्ने तयारीमा छन् । संचालकसँग विवाद भएपछि झण्डै असारमा एक महिना विदामा बसेका उनी त्यसपछि पनि नियमित कार्यालय गएका छैनन् । समाचार स्रोतका अनुसार नेफ्स्कुनको ऋण लगानी तथा धितो लिलामीको विषयमा संचालकहरुले अनावश्यक चासो देखाउन थालेपछि कर्मचारीहरुले विरोध गरेका थिए । जसका कारण अन्तरलगानीको विभागिय बैंठकमा भनाभन समेत भएको थियो ।
त्यसपछि कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई गुनासो गरेपनि उनले संचालकलाई खुशी बनाउनका लागि कर्मचारीको सरुवा गरेका थिए ।
सरुवाको विरोध गर्दै कर्मचारीहरुले राजिनामा दिएका हुन् । संघका सूचना अधिकारी गणेश प्रसाद तिम्मल्सेना भने नियमिति प्रक्रिया अन्तरर्गत नै सरुवा भएको दावी गर्छन् । ‘लामो समयदेखि एकै ठाउमा भएका कर्मचारीको सरुवा गरिएको हो’ उनले भने, ‘तर, साथीहरुले व्यक्तिगत कारण देखाएर राजिनामा दिनुभएको हो ।’
प्रतिक्रिया