वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कहाँ अड्किरहेको छ गभर्नर नियुक्तीको हलो, ओलीले राख्लान् देउवाको वचन ?

अर्थटुडे
२०८२ बैशाख ३१, बुधबार

काठमाडौ । नेपाल राष्ट्र बैंक ऐनमा भएको प्रावधान अनुसार गभर्नर नियुक्ती गरेको भए तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनु एक महिना अघि अर्थात फागुन २४ गते नै राष्ट्र बैंकले नयाँ नेतृत्व पाउथ्यो । तर, गभर्नर अधिकारीको कार्यकाल सकिएको एक महिना वितिसक्दा पनि सरकारले नयाँ नियुक्ती गर्न सकेको छैन । गभर्नरका लागि एक पछि अर्को पात्रको नाम मात्र चर्चामा आएपनि सिफारीस गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित सिफारीस समितिको बैठक समेत बस्न सकेको छैन ।

आईतबार गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिए । आगामी गभर्नर आफू हुने सत्ता साझेदार दलहरुको सहमतिपछि उनले समितिको सदस्यबाट नै राजीनामा गरेका उनीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिफारीस समितिको सदस्य नै गभर्नरको दावेदार भएपछि पौडेलको चौतर्फी आलोचना भइरहेको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको चुनावमा चितवन‐१ बाट उमेदवार भएका उनी रास्वपाका उमेदवार एवं सेयर लगानीकर्ता हरी ढकालसँग पराजित भएका थिए । कांग्रेसबाट टिकट नै लिएर चुनाव लड्न गएका पौडेल गभर्नरका लागि कानुनतः अयोग्य रहेको जिकिर रिटमा गरिएको छ ।

नियुक्ती प्रक्रिया लम्बिदै गर्दा सत्ता साझेदार दलहरुले गभर्नरको ‘ललिपप’ देखाएर चार जनालाई पदबाट राजीनामा गराइसकेका छन् । आफ्नो पदबाट राजीनामा दिनेमा डा. पौडेल चौथो नम्वरमा पर्छन् । नेताहरुले गभर्नर बनाउँछु भनेर आशा देखाएपनि उनको अवस्था पनि अन्योल नै छ ।

यसअघि नेपाली कांग्रेसले गभर्नर बनाउने भन्दै डा.गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गराएको थियो । तर, कामु गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि कांग्रेसले गभर्नरका लागि पौडेललाई अगाडी सारेको हो ।

त्यस्तै भट्ट अघि नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पनि गभर्नर बन्नका लागि पदबाट राजीनामा दिएका थिए । नेकपा एमालेको तर्फबाट गभर्नर हुनका लागि डा.प्रकाशकुमार श्रेष्ठले पनि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले उनको राजिनामा स्वीकृत नगरेपनि जेठ १० गतेबाट अनिवार्य अवकाश पाउदैछन् । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली बाहेक सवैजसो उनी गभर्नर हुनुपर्ने पक्षमा छन् ।

श्रेष्ठले सन् २०१२ मा अमेरिकाको ‘द न्यु स्कुल युनिर्भसीटी’ बाट अर्थशास्त्रमा पिचएचडी गरेका छन् । उनको पिएचडीको शिर्षक ‘मनीटरी पोलिसी, द बैंकिङ सिष्टम एण्ड इन्टरनेसनल रिजर्भ इन स्मल ओपन इकोनोमिज’ थियो । जुन नेपाल जस्तो देशमा अति सान्दर्भिक छ । विषयगत विधामा पिएचडी गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशकमा श्रेष्ठ नै पहिलो व्यक्ति हुन् । तर, अहिलेसम्म प्रधानमन्त्रीबाट उनलाई बोलावट भएको छैन । उच्च स्रोतका अनुसार एमालेका महासचिव र उपाध्यक्ष श्रेष्ठको पक्षमा छन् तर उनीहरुले प्रधानमन्त्री ओलीसामु मुख खोल्न सकेका छैनन् । प्रधानमन्त्रीज्युले अरुले सिफारिस गरेको मन पराउनुहुन्न एक पटक आफै जानुस् न भन्ने गरेका छन् तर, अहिलेसम्म श्रेष्ठलाई भेट्नका लागि प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले समय नै उपलव्ध नगराएको ति स्रोतले जानकारी दिएका छन् । यस विषयमा श्रेष्ठले भने बोल्न चाहेनन् ।

अहिले पौडेललाई गभर्नर बनाउने पक्षमा प्रधानमन्त्री ओली सहमत देखिएका छन् । तर, भित्रि रुपमा भने ओली एमालेकै गभर्नर चाहन्छन् । आफ्नो दल निकट गभर्नर हुँदा प्रतिपक्षी सरकार हुदा वित्तिय क्षेत्रमा नियन्त्रण राख्न सकिने पुष्टी गभर्नर महाप्रसाद अधिकारीको कार्यकालबाट भइसकेको छ ।

नेपालमा डलरको समस्या हुदा नविल बैंकले आफ्नो बण्ड बेलायतमा बेचेर डलर ल्याउने प्रस्ताव राष्ट्र बैंकमा लगेको थियो । सो समयमा नविल बैंकले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई पनि लण्डनमा लगेर कार्यक्रम गर्ने र लण्डन स्टक एक्सचेन्जबाट नविल बण्डको कारोबार सुरु गर्ने तयारी गरेको थियो । तर, उक्त प्रस्ताव अधिकारीले स्वीकृत गरेनन् । डलर अभावलाई थप चर्कन दिए । जसको परिणामस्वरुप देशको अर्थतन्त्र झण्डै खाडलमा पुगेको थियो भने तत्कालिन सरकारको व्यापक आलोचना भएको थियो । उक्त समयमा नेकपा एमाले प्रतिपक्षमा थियो ।

अघिल्लो घटनाहरु हेरेर पनि एमाले गभर्नर पद सहजै कांग्रेसलाई दिने मुडमा भने देखिदैन । गभर्नरको पदको पावरबारे प्रधानमन्त्री ओली राम्रो जानकार छन् । त्यसैले उनी नेपाली कांग्रेसलाई गुमराहमा राखेर अन्तिम समयमा आफ्नो गभर्नर बनाउने दाउँमा देखिएको एमालेका एक उच्च स्रोतले बतायो ।

त्यस्तै पौडेलपनि आफू गभर्नर हुनेमा भने ढुक्क छैनन् । उनले आफू गभर्नर पदको लागि सक्षम व्यक्ति भएको घुमाउरो पारामा दावी गरेका छन् । उनले आफ्नो फेसवुकमा एउटा इतिहासको कथा पोष्ट्याउदै आफू पनि हिरा भएको र राज्यले नचिने राज्यले नै दुख पाउने तर आफू अन्यत्रै गएर सेटल हुन सक्ने चेतावनी समेत दिएका छन् । उनले राज्यले आफ्ना देशमा भएको हिरालाई समयमा नै चिन्न सक्नुपर्ने समेत स्पष्ट पारेका छन् ।

समाचारमा मात्र गभर्नर बनेका यी नाम

संचार माध्यमले विभिन्न समयमा विभिन्न नामका मानिसहरुलाई गभर्नर बनाएका छन् । नेपाल राष्ट्र बैंकका संचालक रहेका रविन्द्र प्रसाद पाण्डे, चिन्तामणी शिवाकोटी, राजेन्द्र क्षेत्री, बैंकर ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, किरणकुमार श्रेष्ठ, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट, डा.प्रकाशकुमार श्रेष्ठका साथै डा.अंगदराज तिमिल्सिना, डा.शुशील भट्ट, पूर्व अर्थसचिव रामेश्वर खनाल, हुदै नेपाली अहिले कांग्रेसले पौडेलको नाम पनि चर्चामा छ ।

अन्तमा गभर्नरमा निलमको सम्भावना कति ?

सवैलाई चकित बनाउदै पहिलो महिला गभर्नरको रुपमा डा.निलम ढुंगाना तिम्सिना बन्ने सम्भावनालाई पनि नकार्न सकिदैन । कार्यकारी निर्देशक डा.भट्टको राजीनामा स्वीकृत नगरी अडानमा बसेका कारण अहिले उनको चर्चा छ ।

ढुंगाना स्वयंम नेपाल राष्ट्र बैंक ऐनले कार्यकारी निर्देशक गभर्नर बन्न सक्ने कल्पना नगरेको गभर्नर सिफारिस समिति गठन भइसकेपछि दिएको राजीनामा ऐन विपरित भएको तर्क राख्छिन् । एकातिर आफूभन्दा जुनियर अर्कोतर्फ समिति बनीसकेपछि दिएको राजीनामा कसरी स्वीकृत गर्न सकिन्छ डा.तिम्सिनाले आफ्ना नजिककासँग भन्ने गरेकी छिन् । उनी गभर्नर बनाउनका लागि राजनीतिक लविङ गरेर गभर्नर बन्नका लागि ठिक्क भएपछि राजीनामा दिने प्रवृत्ति खतरनाक रहेको भन्दै भइरहेको १८ जना कार्यकारी निर्देशकले नै त्यसै गरे के गर्ने ? भन्ने प्रश्न समेत आफू निकटसँग गर्ने गर्छिन् ।

तिम्सेनाले राष्ट्र बैैंकको स्वायत्तता कायम राख्न र नीति र थिति बसाल्नका लागि आफूले भट्टको राजीनामा स्वीकृत नगरेको दावी गर्छिन् । विगतमा महान्याधिवक्ताको कार्यालयको नजिर रहेको भन्दै यदी अहिले आफूले भट्टको राजीनामा स्वीकृत गरेमा यही नजिर पछिसम्म बस्ने भएकोले आफू सजग रहेको दावी गरिन् । “यदी मैले अहिले राजीनामा स्वीकृत गर्दा गभर्नर सिफारिस समिति बनाइसकेपछि पनि राजनीतिक लविङका कारण राष्ट्र बैैंकका जुनसुकै व्यक्ति गभर्नर हुन पाउने नजिर बस्छ जुन संस्थागत सुशासनको वर्खिलाप हो । त्यसैले मबाट यस्तो हुदैन” उनले भनिन् । उनको अडान र कन्फिडेन्ट हेदा उनको पछाडी ठूलै शक्ति रहेको स्पष्ट देखिन्छ तर ढुंगाना भने आफूले थिति बसाल्नका लागि अडान लिएको र आफ्नो पछाडी कुनै शक्ति नभएको दावी गर्छिन् ।

प्रधानमन्त्री ओली पनि ढुंगानालाई गभर्नर बनाउन चाहन्छन् । आगामी २० बर्षसम्म पनि नेपाल राष्ट्र बैंकले महिला गभर्नर पाउने सम्भावना छैन । त्यसैले महिला गभर्नर बनाएर इतिहास रच्न भुमिका खेलेको जस लिन पछी नहट्ने सोचमा ओली रहेको देखिन्छ । अहिलेसम्म महिलालाई नेतृत्वमा पुर्याउनमा ओलीको भुमिका सकारात्मक रहेको नकार्न सकिदैन ।

प्रधानमन्त्री ओलीले ढुंगानालाई गभर्नर हुनका लागि तयारी अवस्थामा बस्न ‘ग्रिन सिंग्नल’ दिएको पनि ओली निकट उच्च स्रोतले जानकारी दिएको छ । तर, प्रधानमन्त्री ओलीको ग्रिन सिंग्नलबारे आफू बेखबर रहेको कामु गभर्नर डा.निलम ढुंगाना तिम्सिना बताउछिन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ