काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउने क्रममा झन् भास्सिएपछि कहिले खुल्छ भन्ने अन्यौलमा परेको छ । विमानस्थलका प्राविधिकहरुले भने अझै दुई तीन दिन विमानस्थल खुल्ने संभावना नरहेको बताएका छन् ।
नेपाल एयरलाइन्स र सबै सुरक्षा निकायका ५० भन्दा बढी दक्ष जनशक्ति तथा भारतबाट आएको २५ जनाको विज्ञ टोलीले घाँसे मैदानमा धस्सिएको विमानलाई माथि उठाएर सुरक्षित स्थानतर्फ लैजान काम गरिरहेका थिए तर सकेनन् ।
दुर्घटनाग्रस्त टर्किस एयरलाईन्सलाई धावनमार्गबाट हटाउनका लागि विमानस्थलमा थाइ इन्जिनियर, नेपाली इन्जिनियर र भारतबाट आएको टोलीबीच छलफल भएको छ ।
भारतीय प्रविधि टोलीले नसक्ने संकेत देखिएपछि टर्किस एयरलाइन्सकै पहलमा इस्तानबुलबाट रिकभरी टिम आउने भएको छ । यस घटनाबाट टर्कीको विमान दुर्घटनाबाट नेपालको हवाई उड्डयनको इतिहासमा सबैभन्दा लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने भएको छ ।
नेपालकोे ६६ वर्षे हवाई उड्डयन इतिहासमा विमानस्थल बन्द भएको यो पहिलो घटना हो । विश्व हवाई इतिहासमा यस्ता घटना विरलै हुने गरेका छन् । फागुन २० गते बुधबार बिहान टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएपछि विमानस्थलको धावनमार्ग अवरुद्ध भएको थियो ।
विकसित मुलुकहरुमा यस्ताखाले घटना हुने भएपनि वैकल्पिक विमानस्थल हुने गरेको थियो तर नेपालमा भने बैकल्पिक विमानस्थल रहेको छैन । धावनमार्ग खुलाउन समय लाग्ने भएकाले विमानस्थलले शनिबार बिहान १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले जानकारी दिएका छन् ।
प्रतिक्रिया