काठमाडौं । राजधानीका पर्यटकीय क्षेत्र ठमेल र दरवारमार्गलाई रातभर खुल्ला राख्नका लागि आवश्यक तयारी भइरहेको छ । पर्यटकको सुविधा तथा रात्रिकालीन व्यवसायीहरुको मागलाई ध्यान दिदै रातभर बजार खोल्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिने संकेत गरेपछि आवश्यक भौतिक पुर्वाधार र सुरक्षाका लागि आवश्यक निर्माण भइरहेको छ ।
प्रशासन कार्यालयले पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ एजेन्सी व्यवसायीको आग्रहबमोजिम प्रमुख पर्यटकीय व्यापारिक क्षेत्रलाई सञ्चालनकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आवश्यक पूर्वाधार खडा गरी ठमेल र दरबारमार्गलाई चाँडै २४सै घन्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
निश्चित सर्त र आवश्यक पूर्वाधार तयार गरेपछि खुल्ला गर्ने तयारी भएको प्रशासनले जनाएको छ । त्यसका लागि रात्रिकालीन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध, सबै गतिविधि देखिने गरी आन्तरिक र बाह्य क्लोज सकिर्क टेलिभिजन (सिसीटिभी), डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता सर्त प्रशासनको छ ।
ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्रको करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने काम ८० प्रतिशत बढी सकिएको र क्लोज सकिर्क टेलिभिजन जडानको काम भइरहेको छ ।
पूर्वाधार तयार भएपछि बढीमा डेढ महिनाभित्र ठमेल त्योभन्दाअघि नै दरबारमार्गलाई २४ सै घन्टा खुल्ला गरिन प्रशासनको तयारी छ ।
प्रतिक्रिया