काठमाडौ । नविल बैंकका प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा भाग लिनका लागि उनले बैंकबाट राजीनामा दिएका हुन् । बैंकमा अझै ढुंगानाको पदावधि डेढ वर्ष बाँकी छ।
सरकारले गभर्नर नियुक्तिको लागि समिति समेत बनाएपछि गभर्नर पदमा उम्मेदवारी दिन बैंकमा राजीनामा दिएको ढुंगानाको दावी छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर छनोटको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ।
समितिका सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल छन्।
अहिलेका गभर्नर डा. महाप्रसाद अधिकारीको पदावधि चैत २४ गते सकिँदैछ। अधिकारी अहिले बिदामा बसेका छन्। गभर्नरको आकांक्षीको रूपमा राष्ट्र बैंककै डेपुटी गभर्नर, कार्यकारी निर्देशक र केही बैंकरदेखि अन्य क्षेत्रका व्यक्तिहरूको नाम आइरहेका छन्।
प्रतिक्रिया