काठमाडौं । उच्च खराब कर्जा र कर्जा जोखिम व्यवस्था नहुँदा समस्याउन्मुख बनेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा बचत तथा ऋण लगानी पनि घट्दै गएको छ । संघभित्रको वेथिती र नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्डले वित्तीय कारोबार गर्न रोक लगाएपछि नेफ्स्कूनको कारोबार घट्दै गएको हो ।
नेफ्स्कूनको मासिक विवरण अनुसार गत एक वर्षको अवधिमा निक्षेप १७.९५ प्रतिशत घट्दा कर्जा प्रवाह पनि १४.८२ प्रतिशतले कम भएको छ । संघमा अघिल्लो आर्थिक वर्ष २०८० ८१ असारसम्ममा २५ अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेकोमा गत आव २०८१ ८२ असारसम्ममा साढे ४ अर्ब भन्दा बढी निक्षेप घटेर २० अर्ब ६५ करोड रुपैयाँमा झरेको छ ।
पछिल्लो समय संघभित्र अनियमितता बढ्दै गएको समाचारहरु बाहिरिन थालेपछि संघको निक्षेपमा प्रभाव परेको हो । यसलाई सदस्य संस्थाहरुले गर्ने विश्वास घट्दै गएको संकेतका रुपमा बुझ्नुपर्ने एक सहकारीकर्मीले बताए ।
नेफ्स्कूनले जथाभावी रुपमा विना धितो ठूलो कर्जा लगानी गरेको तर असुली गर्न नसक्दा खराब कर्जा बढीरहेको छ । तर, संघले पर्याप्त कर्जा जोखिम व्यवस्था वापत रकम नछुट्याएको जोखिममा रहेको लेखा परिक्षण प्रतिवेदनमै उल्लेख छ ।
खराब कर्जाबापत प्रोभिजनिङ गर्नुपर्ने भन्दा ३ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ कम प्रोभिजनिङ गरी नक्कली नाफा देखाएको उसको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमै उल्लेख छ । प्रोभिजनिङ गर्नुपर्ने रकम नाफाबाट घटाउनुपर्नेमा त्यो नगरेपछि लेखा परीक्षकले विपरीत राय (एडभर्स अपिनियन) दिएको छ ।
प्रोभिजन नगरी नक्कली नाफा देखाएर २ दशमलव ९४ प्रतिशत नाफा बाड्ने निर्णय साधारणसभाबाट गरेको नेफ्स्कूनलाई सहकारी विभागले वितरण नगर्न निर्देशन दिएको थियो ।
यसअघि अघिल्लो आवमा पनि संघले करिब ५ अर्ब कम प्राभिजन गरेको भन्दै लेखापरिक्षकले एडभर्स अपिनियन दिएको थियो । सहकारी विभागले त्यसमा सुधार गर्न निर्देशन दिएकोमा संघले अटेर गर्दै आएको छ ।
संघमा काभ्रेको बनेपामा जग्गा खरिद, मिनभवनमा घर निर्माण, मिरा इआरपी सफ्टवेयरमा लगानीलगायतमा विषयमा अनियमितता भएको आरोप लाग्दै आएको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डले बचत तथा ऋण सहकारी संघहरुले वित्तीय कारोबार गर्न नपाउने, संस्थाहरुले संघमा शेयर लगानी गर्न नपाउने र संघमा राखेको रकम तरलतामा गणना नहुने जस्ता प्रावधानले पनि बचत फिर्ता हुने क्रम बढेको छ ।
ऋण पनि घट्दो
निक्षेपसँगै नेफ्स्कूनको कर्जा प्रवाह पनि घट्दो क्रममा देखिएको छ । खराब कर्जा बढ्दै गएपछि संघले असुलीलाई तिव्रता दिएको छ । तर, उच्च ब्याजदरका कारण नयाँ कर्जा प्रवाह हुन सकेको छैन ।
अघिल्लो आवको असारको तुलनामा गत आवको असारसम्ममा ऋण लगानी पनि कर्जा १४.८२ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आवमा संघको ऋण लगानी १० अर्ब ३२ करोड रुपैयाँ रहेकोमा गत आवको असारमा ८ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ ।
गत आवभरी ऋण लगानी ओरालो लागिरहेका बेला असारमा भने बृद्धि गरेको छ । संघले पुरानो ऋणलाई नियमित देखाउनका लागि थप ऋण लगानी गरेको वताइएको छ ।
संघले ऋण असुली हुन नसकेपछि धितो सकार गरी करिब २ अर्ब रुपैयाँ असुली गरेको देखाएपनि गैरबैंकिङ सम्पति थुप्रिएको छ । तर, लिलामीबाट सम्पति बिक्री गर्न सकेको छैन ।
प्रतिक्रिया