काठमाडौं । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले अध्यादेशमार्फत जेन–जी पुस्तालाई पनि लक्षित गर्ने गरी मतदाता नामावली संकलन सुरु गरेको छ।
आयोगका अनुसार १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहनेछ।
कानुनी अड्चन फुकाउन अध्यादेश
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि चुनावको घोषणा गरेको थियो। तर, कानुनी प्रावधानका कारण धेरै योग्य युवाले नामावलीमा नाम दर्ता गर्न पाएका थिएनन्। यसै समस्यालाई समाधान गर्न सरकारले बुधबार अध्यादेश जारी गरेको हो।
आयोगले नाम दर्ता मात्र नभई विभिन्न सुधारका व्यवस्था पनि मिलाएको छ। विवाह भएर बसाइँ सरेका मतदाता, अन्यत्र स्थानान्तरण भएका, नाम, उमेर वा विवरणमा त्रुटि भएका यी सबैले आफ्नो अभिलेख सच्याउन सक्नेछन्।
चुनाव नजिकिँदै गर्दा मतदाता नामावली संकलन कार्यलाई सहज बनाउदै सरकार अघि बढेको छ। त्यसैले योग्य नागरिकलाई तोकिएको समयमै नाम दर्ता गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया