काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले अटोमोबाइल उद्योगका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएका छन् । उनले सरकार–व्यवसायी सहकार्य बिना देशको उद्योग अगाडि बढ्न नसक्ने भन्दै उद्योगलाई सबल बनाउन सरकार सजग रहेको बताए। उनले नाडाले प्रस्तुत गरेका मागलाई सकारात्मक रूपमा लिँदै चाँडै कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग अटोमोबाइल क्षेत्रका समस्या र समाधानबारे विस्तृत छलफल गरेको हो। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा। रामप्रसाद घिमिरेसहित नाडाका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।
छलफलमा अध्यक्ष चौधरीले जेन–जेड आन्दोलनका क्रममा शो–रुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोड हुँदा उद्योगमा परोक्ष असर परेको र ग्राहक विश्वासमा धक्का पुगेको बताए। उनले उद्योगलाई संरक्षण गर्न नीतिगत तथा संस्थागत सहयोग अपरिहार्य रहेको धारणा राखे।
यस्तै, उनले नेपाल गुणस्तर तथा नापतौल विभागसँग पर्याप्त परीक्षण उपकरण नभएकाले स्वदेशी उत्पादनले गुणस्तर चिन्ह पाउन नसक्ने समस्या समाधानका लागि तत्काल परीक्षण सुविधा स्थापना गर्न आग्रह गरे। साथै, लुब्रिकेन्ट, ब्याट्री, टायर र हेलमेट उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै अवैध आयात रोक्न सीमा क्षेत्रमा निगरानी कडाइ गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरे।
महासचिव सुरेन्द्रकुमार उप्रेतीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन गुणस्तर प्रमाणिकरणमा सहजता आवश्यक रहेको बताए। उनले नेपालमा रहेका ब्याट्री कारखानालाई आधार बनाएर ब्याट्री रीसाइक्लिङ प्लान्ट स्थापना गर्नुपर्ने माग गरे।
नाडाका अन्य पदाधिकारीहरूले पनि व्यावसायिक सवारीसाधन बजार खस्किँदै गएको, हेलमेटमा गुणस्तर चिन्हको अनिवार्यता र स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने जस्ता विषयमा धारणा राखे।
सरकारी पक्षबाट सचिव राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै व्यवसायीहरूलाई पनि यसमा सहकार्य गर्न आग्रह गरे।
प्रतिक्रिया