काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायत अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी विनिमय कारोबार गर्न निर्देशन दिएको छ। बैंकले विदेशी मुद्राको अवैध कारोबार रोक्न र विनिमय प्रणालीलाई पारदर्शी बनाउन यो कडा कदम चालेको हो।
राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गर्दै सूचना प्रकाशित गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ कि ऐनको दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाइने व्यवस्था छ।
सूचनामा भनिएको छ, “क्यासिनो तथा अन्य सम्बन्धित संस्थाले ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद ४ अनुसार इजाजतपत्र लिएर मात्र विदेशी विनिमय कारोबार गर्न सक्नेछन्।”
राष्ट्र बैंकले हाल क्यासिनोहरूबाट विदेशी मुद्राको अनधिकृत कारोबार, विशेष गरी अमेरिकी डलर र भारतीय रुपैयाँको सटही सम्बन्धी गतिविधि बढ्दै गएको भन्दै निगरानी कडा पारेको हो।
नयाँ निर्देशनपछि क्यासिनो र होटलहरूले विदेशी पर्यटकबाट लिने वा दिने विदेशी मुद्रा कारोबार गर्दा इजाजतपत्र अनिवार्य गर्नुपर्नेछ। राष्ट्र बैंकले इजाजतपत्रबिना विदेशी मुद्राको कारोबार गर्नेलाई कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ।
राष्ट्र बैंकका एक अधिकारीले यसबाट विदेशी मुद्राको अनधिकृत कारोबार नियन्त्रण गर्न र वैदेशिक भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।
लेखकको बारेमा

प्रतिक्रिया