वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकहरुसँग थप डेढ खर्ब शेयर धितो कर्जा दिने क्षमता, कुन बैंककाे कति ?

अर्थटुडे
२०८२ आश्विन २६, आईतवार

काठमाडौ । शेयर धितो कर्जामा कडाइ गरेसँगै तिव्र आलोचना र दवाव खेपिरहेको राष्ट्र बैंक फेरी पुरानै नीतिमा फर्किएकाे छ । केन्द्रिय बैंकले आफैले आर्थिक वर्ष (आव) २०७८/७९ को मौद्रिक नीतिमार्फत लागु गरेको १२ करोड (पटक पटक संसोधन गरेर २५ करोडसम्म पुर्याएको) को सिमा हटाएको छ ।

बैंक, वित्तीय संस्थामा रहेको पुँजीलाई उत्पादमुलक क्षेत्रमा परिचालन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउने भन्दै नेपाल राष्ट्र बैंकले सो व्यवस्था गरेको थियो ।

सरकारले पुँजी बजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै मंगलबार निर्देशन जारी गरी राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमा पूर्ण रुपमा हटाएको हो । यसैगरी राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाहरुका लागि पनि शेयर बजारमा लगानी गर्न लचिलो बनेको छ ।

पूर्व बैंकर पर्शुराम कुवर क्षेत्री शेयर धितो कर्जाको नीति परिवर्तन गरी राष्ट्र बैंकले लगानीकर्ताको आत्मविश्वास बढाउन चाहेको बताउँछन् । राष्ट्र बैंकको कडाइका बावजुत पनि बैंकहरुमा भने शेयर धितो कर्जा बढिरहेको छ । गत आवमा बैंक, वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा ८ दशमलव ४ प्रतिशतले बढ्दा सबैभन्दा बढी शेयर धितो कर्जा नै विस्तार भएको छ ।

गत आवमा बैंक, वित्तीय संस्थाहरूबाट मार्जिन प्रकृति कर्जा ५६ दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आवमा पनि बैंकहरुको शेयर धितो कर्जा विस्तार हुने क्रम जारी छ । गत असारको तुलनामा चालु आवको साउनमा बैंक, वित्तीय संस्थाको शेयर धितो कर्जा २ दशमलव ७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

चालु आवको साउनसम्ममा बाणिज्य बैंकहरुले मात्र शेयर धितोमा ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको साउनसम्ममा ४७ अर्ब ८८ करोड कर्जा प्रवाह गरेकोमा एक वर्षको अवधिमा यो कर्जा ८१ दशमलव ८२ प्रतिशतले बृद्धि भएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक, वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजी (कोर क्यापिटल)को कुल ४० प्रतिशतसम्म मात्रै सेयर धितोमा कर्जा दिन पाउने व्यवस्था छ । हाल वाणिज्य बैंकहरूको कुल प्राथमिक पूँजी ६ खर्ब रुपैयाँ रहेकोमा शेयर धितोमा २ खर्ब ४० अर्ब कर्जा दिन पाउछन् । त्यसको आधारमा बैंकहरुले अझै एक खर्ब ५२ अर्ब थप कर्जा दिन सक्ने क्षमता छ ।

प्राथमिक पुँजीको अनुपातमा ६ ओटा बैंकको मात्र शेयर धितो कर्जा ३० प्रतिशत नाघेको छ । यसैगरी ५ ओटा बैंकहरुको भने १० प्रतिशत भन्दा कम छ । त्यसमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने शेयर धितो कर्जा शुन्य छ ।

शेयर लगानीकर्ता छोटेलाल रौनियरा राष्ट्र बैंकको नीतिका कारण शेयर बजारमा नगद प्रवाह बढ्ने र यसले बजार बढाउने बताउँछन् । ‘दायरा विस्तार भइरहेको शेयर बजारमा लगानीकर्ताका लागि ऋणको सीमा तोक्नु गलत थियो, त्यसैले हामीले विरोध गर्दै आएका थियौं’ उनले भने, ‘अहिले तरलता पनि सहज भएको र ब्याजदर पनि कम भएको अवस्थामा सीमा हटाएपछि बजारमा सकारात्मक प्रभाव पर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ