वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको हस्तक्षेपपछि सहकारी बैंकमा एक वर्षअघि नै निर्वाचन

अर्थटुडे
२०८२ आश्विन २८, मंगलवार

काठमाडौं । संस्थागत सुशासनलगायतका कैफियत देखाएर नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेपछि राष्ट्रिय सहकारी बैंकको कार्यकाल सकिनुभन्दा एक वर्ष अघि नै सञ्चालक समितिको निर्वाचन हुने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा विनियम संशोधन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पुस मसान्त भित्र सम्पन्न गर्ने गरी मिति तय गर्ने र कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित कार्यसूचीहरू तय गरिएको बैंकले जानकारी दिएको छ ।

पछिल्लो पटक २०७९ पुस १६ मा भएको बैंकको १९ औं वार्षिक साधारणसभाले केबी उप्रेतीको अध्यक्षमा सञ्चालक समिति चयन गरेको थियो । तर, उप्रेती प्रारम्भिक संस्था यमुना आइडल हाम्रो सहकारी संस्थाको ठगी मुद्दामा थुनामा परेपछि उनलाई बैंकको अध्यक्षबाट हटाउन दवाव परेको थियो ।

त्यसपछि राष्ट्र बैंकको अनुगमनमा उप्रेतीले फर्जी विवरण पेश गरी अध्यक्षमा निर्वाचित भएको भेटिएपछि हटाउन निर्देशन दिएको थियो । राष्ट्रिय सहकारी बैंकबाट यमुना आइडलले लिएको ऋणको भाखा नाघेको भएपनि उप्रेतीले काठमाडौं जिल्ला सहकारी संघबाट प्रतिनिधित्व गर्दै बैंकको अध्यक्षमा पुनः निर्वाचित भएका थिए ।

अनुगमनपछि राष्ट्र बैंकले अध्यक्ष उप्रेतीसँगै सञ्चालकहरू रामबहादुर जीसी, रामहरि बजगाईं, केदार मानन्धर, शिवा थापा र मनोजकुमार थापा मगरलाई पदबाट हटाउन निर्देशन दिएको थियो । त्यसपछि गतवर्ष मंसिरमा बैंक सञ्चालक समितिले राष्ट्र बैंकको निर्देशन अनुसार अध्यक्ष उप्रेती सहित ५ जना संचालकहरुलाई हटाएको अध्यक्षमा महेन्द्र कुमार गिरिलाई चयन गरेको थियो ।

राष्ट्र बैंकले सहकारी बैंकलाई विनियम संसोधन गरी नयाँ सञ्चालक समिति चयन गर्न निर्देशन दिएको छ । हाल १६ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको सहकारी बैंकलाई विनियम संसोधन गरी ७ जनाको मात्र सञ्चालक समिति बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

अब बैंकले विनियमन संसोधन गरी ५ जना शेयर सदस्य र २ जना स्वतन्त्र सञ्चालक रहने गरी बैंकको संचालक समिति पुर्नसंरचना गर्नुपर्नेछ । यस्तै सञ्चालकहरुबाट अध्यक्ष निर्वाचित हुने गरी विनियम संसोधन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकले साधारणसभा अन्तरगत मङ्सिर ६ गते सातै प्रदेशमा एकाइ सभा र १३ गते एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा गर्ने निर्णय गरेको छ । एकाइगत रूपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछ ।

भर्चुअल र भौतिक रूपमा सम्पन्न गरिने साधारण सभाको उद्घाटन सत्र संयुक्त रूपमा र छलफल सत्र प्रदेशगत रूपमा सम्पन्न गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले जानकारी दिए । सात प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकको निर्णयहरू प्रमाणित गर्ने सभा मङ्सिर १३ गते काठमाडौंमा हुने छ ।

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०८२÷०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुनेछ । त्यसैगरी बैंकको बैठकले अविरल वर्षाका कारण इलाममा गएको बाढी र पहिरोबाट प्रभावित परिवारहरूलाई बैंकले पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ ।

अधिक खराब कर्जा र बैंकको पुँजीकोष समेत तोकिएको भन्दा कम भएपनि सहकारी बैंकलाई राष्ट बैंकले उच्च निगरानीमा राख्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ