काठमाडौं । नेपाल बैंकले नाफा तीन अर्व नघाएको छ । विभिन्न कम्पनीमा भएका आफ्ना सेयर बेचेपछि बैंकले खुद मुनाफा तीन अर्व नघाएको हो । त्यसैगरी बैंकले आफ्नो रिजर्भ पनि पहिलोपटक धनात्मक बनाएको छ । यो वर्ष सवैभन्दा बढी मुनाफा कमाउने बैंकको रुपमा यस बैंक परेको छ । यो अहिले सम्म प्रकाशित बैंकहरुको वित्तिय विवरणमा आधारित हो ।
एक अर्व रुपैयाँभन्दा बढीले व्याज आम्दानी बढाएको बैंकले आफ्नो होल्डमा रहेको सम्पत्ती बेचेर एक अर्व ७३ करोड रुपैयाँ आम्दानी गरेपछि बैंकको खुद मुनाफामा ठूलो वृद्धि भएको हो ।
तेस्रो त्रैमाससम्म ९४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको नेपाल बैंकको रिजर्भ चौथो त्रैमासमा ३४ करोड रुपैयाँले धनात्मक बनेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिममा बैंकको रिजर्भ दुई अर्व ६३ करोडले ऋणात्मक थियो । बैंकको खुद नाफा पनि ४८ करोडबाट बढेर तीन अर्व एक करोड रुपैयाँ पुगेको छ ।
बैंकले तारागाउँ होटल तथा नेपाल इन्सुरेन्स कम्पनीको सेयर विक्रि गरेर आम्दानी ठूलो पारेको थियो ।
बैंकले आफ्नो सबैभन्दा ठूलो खर्च कर्मचारी खर्च समेत घटाएको छ । विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा दुई अर्व ४१ करोड रुपैयाँ कर्मचारीमा खर्च गरेको थियो तर गत आर्थिक वर्षमा यस्तो खर्च दुई अर्व १८ करोडमा सिमित भएको छ ।
बैंकको निक्षेप ८९ अर्व छ भने कर्जा ६३ अर्व ५२ करोड रहेको छ । मुनाफा बढेका कारण गत वर्ष कर्मचारी बोनसका लागि सात करोड रुपैयाँको व्यवस्था गरेको नेपाल बैंकले यसपटक ३८ करोड रुपैयाँ छुट्टयाउनु परेको छ ।
प्रतिक्रिया