काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको नियुत्त mी प्रक्रिया अन्योलमा परेको छ ।
सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै बेला लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा रहेको ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तीका लागि गठित सिफारीस समिति’ प्रक्रिया अघि बढाएपनि अध्यक्षका लागि आवेदन दिएका अनिल पौडेल कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्तामा अनुपस्थित भएपनि प्रक्रिया रोकिएको हो ।
सिफारीस समितिले असार ४ गते सूचना जारी गर्दै अध्यक्षका उम्मेदवारहरुका लागि असार ११ गते व्यवसायीक कार्ययोजनाको प्रस्तुतीकरण र असार १३ गते अन्तरवार्ताको समय तोकेको थियो ।
अध्यक्षका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलका साथै नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि नेपाल, पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उपाध्याय तथा सहकारी विकास बोर्डका पूर्व सदस्य सचिव डा.खगराज शर्मा, राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्ष परितोष पौड्याल र सहकारी विकास बोर्डकै पूर्व कर्मचारी अनिल पौडेलले आवेदन दिएका थिए । अध्यक्षका आवेदनकर्तामध्ये पौडेल कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा उपस्थित भएनन् ।
त्यसपछि सिफारीस समितिले असार १३ गते सूचना जारी गर्दै पौडेलका लागि थप ७ दिनको समय दिएको छ । यसबारे सहकारी ऐन तथा सिफारीस समितिले बनाएको मापदण्डका कुनै प्रावधान नभएपनि लोकसेवा आयोगको नियमावली अनुसार समय थप गरेको हो ।
यसैगरी सिफारीस समितिले प्राधिकरणको विज्ञ सदस्यका आवेदकर्तामध्ये डा. रुपा जोशीलाई मात्र हटाएर व्यवसायीक प्रस्तुतीकरण र अन्तरवार्ताको मिति तोकेपछि यसबारे सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । डा. जोशीले दायर गरेको रिटमा गत सोमबार प्रकाशमान सिंह राउतको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ र नियुक्ती प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यस्तै अन्तरिम आदेशका लागि छलफल गर्न विपक्षीहरुलाई अदालतमा उपस्थित हुन निर्देशन दिएपनि प्रतिवादीहरु सम्पर्कमा नआउँदा मुद्दा अघि बढ्न सकेको छैन ।
विज्ञ सदस्यमा डा. जोशी सहित खगराज शर्मा, नारायणप्रसाद पौडेल उपाध्याय, रमेश प्रसाद चौलागाई र शहदेव बस्नेतको आवेदन स्विकृत भएपनि कार्ययोजना मूल्यांकनमा भने जोशी मात्र असफल भएको सिफारीस समितिले जनाएको छ । त्यसपछि जोशीले प्राधिकरणका साथै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समिति, समितिका संयोजकका साथै विज्ञ सदस्यको लागि प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेकी हुन् ।
सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशपछि सिफारीस समितिले विज्ञ सदस्यको मात्र प्रक्रिया रोकेर अध्यक्षको अघि बढाएको थियो । तर, अध्यक्ष उम्मेदवार डा. शर्मा र पौडलले दुवै पदमा आवेदन दिएका छन् । सिफारीस समिति र त्यसका संयोजक तथा दुई जना उम्मेदवारमाथी मुद्दा चलिरहेकै बेला हतार हतार छनोट प्रक्रिया अघि बढाइएको थियो । तर, पौडेल अनुपस्थित भएपछि अध्यक्षको प्रक्रिया पनि अन्योलमा परेको छ ।
सर्वोच्च अदालतले बैशाख अन्तिममा सहकारी नियमन प्राधिकरणमा ७ दिनभित्र सिफारीस समिति र ४५ दिनभित्र नियुक्ती गर्न परमादेश जारी गरेपछि सरकारले नियुक्तीको प्रक्रिया अघि बढाएको थियो । त्यसपछि जेठ पहिलो साता गठित सिफारीस समितिले जेठ ११ गते सूचना प्रकाशित गरी अध्यक्ष र विज्ञ सदस्यका लागि आवेदन माग गरेको हो ।
सहकारी ऐनमा प्राधिकरणको अध्यक्षका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको योग्यता तोकिएको छ । यस्तै विज्ञका रुपमा अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर उर्तिण गरी अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारीको अधिकृत स्तरमा कम्तीमा १० वर्ष कार्य अनुभव भएको हुनुपर्ने प्रावधान छ ।
सिफारीस समितिले तय गरेको ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड, २०८२’ उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको र प्राधिकरणसँग व्यवसायीक स्वार्थ नबाझिएको हुनुपर्ने र यसका लागि आवेदन दिदा स्वघोषणा गर्नुपर्ने प्रावधान छ । तर, सिफारीस समितिले आवेदन स्वीकृती र प्रारम्भिक छनोटमा आफैले बनाएको मापदण्ड र ऐनका प्रावधानलाई समेत ख्याल नगरेको भन्दै आलोचना भइरहेको छ ।
प्रतिक्रिया