काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली र अशक्त, असहाय नागरिकले मात्र बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने ब्यवस्था गरेको छ । यसबाहेकका सर्वसाधारणका लागि भने खाता खोल्दा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ ।
यसअघि नै केन्द्रीय बैंकले राष्ट्रिय परिचयपत्र लिएर मात्र बैंक खाता खोल्न निर्देशन दिएपनि अनिवार्य भनेको थिएन । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकाले अनिवार्य गर्न राष्ट्र बैंकलाई अप्ठेरो परेको थियो । तर व्यवहारमा भने बैंकहरुले ग्राहकबाट परिचयपत्र अनिवार्य गर्न थालेका थिए ।
सर्वोच्च अदालतले सरकारको पक्षमा फैसल्ला गरेपछि केन्द्रीय बैंकलाई पनि यसबारे निर्देशन दिनका लागि बाटो खुलेको हो । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको निर्देशनमा भनिएको छ । ‘बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ । तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् ।’ यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने छ ।
त्यसैगरी आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया