काठमाडौ । हिमालयन बैंकमा रहेको हबीब बैंकको सेयर किन्ने हिमालयन रि इन्स्योरेन्सको योजना विफल भएको छ ।
संस्थापक लगानीकर्ता नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले हबीबले विक्रिमा राखेको सम्पुर्ण सेयर किन्ने भएपछि हिमालयन रिको योजना विफल भएको हो ।
हबीबको सेयरको पहिलो हक संस्थापक वा वहालवाला लगानीकर्ताहरुको हो । यदी उनीहरुले नकिनेमा मात्र दोस्रो चरणमा अन्य सेयरधनीलाई विक्रि गर्न पाउने व्यवस्था छ । सो व्यवस्था बमोजिम संस्थापक लगानीकर्ता नेशनल लाइफ इन्स्याेरेन्सले हबीबको सेयर किन्नका लागि आवेदन दिएसँगै हिमालयन रि यस प्रक्रियाबाट बाहिरिएको थियो ।
हबीब बैंकको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि राखेको थियो । नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँमा पुरै किन्नका लागि आवेदन दिएको छ । बैंकको संस्थापक लगानीकर्ताहरूमध्येबाट नेशनल लाइफसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र बैंक लगानीकर्तामध्येका रामप्रसाद आचार्य र अर्का एक जना महिलाले पनि आवेदन दिएका थिए ।
अन्यले केही प्रतिशत किन्नका लागि आवेदन दिएपनि नेशनल लाइफले भने पुरै किन्नका लागि त्यो पनि माग गरिएको भन्दा बढी रकम दिएपछि हबीब बैंकको सेयर हिमालयनले नेशनल लाइफलाई नै विक्रि गर्ने लगभग निश्चित भएको छ । हिमालयन बैंकका उच्च एक अधिकारीका अनुसार सम्पुर्ण शर्त पुरा गरेको नेशनल लाइफ इन्स्योरेन्सले मात्र हो ।
बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । हबिबले बेच्न चाहेको न्यूनतम मूल्यभन्दा बढीमा नेशनल लाइफले आवेदन हालेको हो ।
हिमालयन रिले उक्त सेयर खरिद गर्ने सहमति सहित राष्ट्र बैंकमा डेढ वर्षअघि नै आवेदन दिएको भए पनि राष्ट्र बैंकले त्यतिबेला सहमति नदिँदा सेयर बेच्ने प्रक्रिया रोकिएको थियो । २०८० मंसिरमा नै पाकिस्तानको हबिब बैंक र हिमालयन रि इन्स्योरेन्सबीच सेयर खरिदबिक्रीको सम्झौता भएको थियो । हिमालयन बैंक र हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिले उक्त सम्झौतालाई स्वीकृति दिँदै किनबेचका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएका थिए ।
नेपाल राष्ट्र बैंकले सेयर खरिद गर्ने हिमालयन रि इन्स्योरेन्सको लगानी सन्दर्भमा ‘फिट एन्ड प्रोपर टेस्ट’ को लागि आवश्यक विवरण नभएको, राष्ट्र बैंकको प्राथमिकता विदेशी कुनै लगानीकर्ता उक्त सेयर खरिद गर्न इच्छुक भएसँगै विदेशी लगानीलाई नै प्राथमिकतामा राख्ने व्यवस्था रहेको र सिभिल बैंकसँग मर्जरमा गएको २ वर्ष पूरा नहुँदा बहालवाला सेयरधनीले सेयर बिक्री गर्दा लाग्ने ठूलो पूँजीगत लाभकर गुम्ने परिस्थितिका कारण त्यतिबेला राष्ट्र बैंकले स्वीकृति नदिई रोकेको थियो । बीमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशनका अनुसार जीवन बीमकले बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
यी दुबै लगानी गरेर नेशनल लाइफको सेयरमा लगानी २ अर्ब ९५ करोड रुपैयाँ मात्रै लगानी गरेको देखिन्छ । कम्पनीको कुल लगानी ६७ अर्ब भन्दा धेरै छ । यसको १० प्रतिशत सेयरमा लगानी गर्दा पनि ६ अर्ब ७० करोड हुन आउँछ । कम्पनीले हिमालयन बैंकमा रहेको हबिबको सेयर ३ अर्ब ३० करोड ५४ लाख ६८ हजार ७९९ रुपैयाँ १ पैसामा खरिद गर्ने तयारी गरेको हो।
हिमालयन रिले हिमालयन बैंकमा रहेको हबिबको सेयर किन्ने योजना जेठ २५ गतेको वार्षिक साधारणसभामा बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजको दर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल बढाउने तथा लगानी विविधिकरण गर्ने अभिप्रायका साथ हिमालयन बैंकको मुख्य लगानीकर्तामध्ये हबिब बैंकको सेयर कम्पनीले खरिद गर्ने प्रक्रिया सुरु गरेको र सम्पन्न हुने क्रममा रहेको अध्यक्ष शेखर गोल्छा र प्रमूख कार्यकारी अधिकृत उपासना पौडेलले जानकारी गराएका थिए । यति लामो कसरत पछि पनि हबीब बैंकको सेयर भने हिमालयन रिले नपाउने देखिएको छ ।
प्रतिक्रिया