काठमाडौं । १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षणका लागि बंगलादेशी हौलादार युनुस एन्ड कम्पनी छनोट भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार उक्त कम्पनीलाई ठेक्का दिने आशयपत्र जारी गर्दै मूल्य अभिवृद्धि कर बाहेक चार कराेड ३७ लाख ४५ हजार रूपैयाँ को प्रस्ताव स्वीकार गरेको जानकारी दिएको हो । प्राविधिक तथा आर्थिक दुबै मूल्याङ्कनमा उच्च अंक ल्याएको हौलादार युनुस कम्पनीसँग एक सातापछि सम्झौता हुनेछ ।
अन्तरराष्ट्रिय मुद्राकोषले नेपाललाई विस्तारित कर्जा सुविधा उपलब्ध गराउनुअघि १० ठूला वाणिज्य बैंकहरूको कर्जाको अन्तर्राष्ट्रिय परामर्शदातामार्फत परीक्षण गर्नुपर्ने सर्त राखेको थियो ।
यसका लागि राष्ट्र बैंकले दोस्रोपटक खुला गरेको बोलपत्र प्रक्रियामा हौलादार युनुससहित नेपाली परामर्शदाता कम्पनी सुवेदी एन्ड एशोसिएट्सको नेतृत्वमा भारतीय कम्पनी मेहेरा गोयल एन्ड कम्पनी र जेकेएसएस एन्ड एशोसिएट्स, नेपालको बीके अग्रवाल एन्ड कम्पनी सहायक राखी भारतको एसआर बाट्लिबोई एन्ड एशोसिएट्स, श्रीलंकाको डेलोइट पार्टनर्स, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस र भारतकै एमएसकेए एन्ड एशोसिएट्स संक्षिप्त सूचीमा परेका थिए ।
यसअघि पहिलो पटकको बोलपत्र प्रक्रियामा पनि पाँच प्रस्तावहरू संक्षिप्त सूचीमा परेका थिए तर केपीएमजी एस्योरेन्स एन्ड कन्सलिटङले मात्र आर्थिक प्रस्ताव पेश गरेकाले राष्ट्र बैंकले प्रक्रिया रद्द गर्दै दोस्रोपटक प्रस्ताव आह्वान गरेको थियो।
प्रतिक्रिया