काठमाडौं । अब वाणिज्य बैंकहरूले प्रवाह गरेका ठूला कर्जाको गुणस्तर परीक्षण विदेशी परामर्शदाताबाट हुने भएको छ । नेपाल राष्ट्र बैंकले बढी कर्जा तथा लगानी गर्ने १० वाणिज्य बैंकको कर्जा परीक्षण गर्न बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्सँग बिहीवार सम्झौता गरेको हो ।
सम्झौताअनुसार सन् २०२५ डिसेम्बरसम्म परीक्षण कार्य सम्पन्न हुने कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले जानकारी दिए । उनका अनुसार दशैं–तिहारलगायत पर्वका कारण काममा केही समय थप हुन सक्नेछ । सम्झौताअनुसार राष्ट्र बैंकले मूल्य अभिवृद्धि करबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अमेरिकी डलरमा हौलादार युनुसलाई परीक्षण कार्यको जिम्मा दिएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असारसम्म वाणिज्य बैंकहरूले ४९ खर्ब ६० अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेका छन् । यसमध्ये ३० खर्ब ९४ अर्ब रुपैयाँ बराबर (६२.३८) प्रतिशत कर्जा परीक्षणको दायरामा पर्न लागेको हो ।
कुन कुन बैंकको कर्जा परीक्षण हुन्छ ?
ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, प्रभु र एनआईसी एशियाका कर्जा तथा लगानी परीक्षण गरिनेछ ।
अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा दिनुअघि ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । आईएमएफले नेपालका बैंकहरूले कर्जा वर्गीकरणमा उदारता अपनाएको, पर्याप्त प्रोभिजन नराखेको र जोखिम व्यवस्थापन कमजोर रहेको भन्दै चासो जनाएको थियो ।
त्यसैअनुसार राष्ट्र बैंकले दोस्रोपटक बोलपत्र आह्वान गरेर हौलादार युनुसलाई छनोट गरेको हो । यसअघि विभिन्न अन्तरराष्ट्रिय तथा नेपाली कम्पनीहरू प्रतिस्पर्धामा परे पनि बजेटभन्दा बढी प्रस्ताव आएका कारण प्रक्रिया रद्द गरिएको थियो ।
कर्जा गुणस्तर परीक्षणका क्रममा बैंकहरूको कर्जा नीति, प्रक्रिया, वर्गीकरण, धितो मूल्यांकन, प्रोभिजनिङ अभ्यास र नियामकीय परिपालनाको सम्पूर्ण मूल्यांकन गरिने बताइएकाे छ ।
प्रतिक्रिया