वि.सं. २०८२ कार्तिक १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेनजीको नाममा कमाउधन्दा

१० वटा जलविद्युत आयोजनामा सेयर माग्दै अवरोध

अर्थटुडे
२०८२ आश्विन २९, बुधबार

काठमाडौ । निःशुल्क सेयरको माग राख्दै १० वटा निर्माणाधिन तथा निर्माणको तयारीमा रहेको विभिन्न जलविद्युत आयोजनाहरुमा जेनजीको नाममा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बुधबार पत्रकार सम्मेलन गरेर जेनजीको नाममा विभिन्न जलविद्युत आयोजनाहरुमा १० प्रतिशत निःशुल्क सेयर लगायत विभिन्न माग राखी निर्माणमा अवरोध पुर्याएका हुन् । स्थानीय बासिन्दाले पूर्वाधार विकासका लागि सडक, विद्यालय र स्वास्थ्य सेवा जस्ता परियोजना क्षेत्रका सुविधा निर्माण गर्न माग गरेको पनि इप्पानले जनाएको छ ।

निर्माण कार्य अवरोध भएका आयोजनाहरुमा बलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ मेगावाट), सेवा हाइड्रोपावर (१.५ मेगावाट), राइजिङ हाइड्रोपावर (१.५ मेगावाट), गाउँघर उज्यालो हाइड्रोपावर (१.५ मेगावाट), याम्बुलिङ हाइड्रोपावर (७ मेगावाट) रहेको छ ।

त्यस्तै बलेफी इनर्जी हाइड्रोपावर (४० मेगावाट), अपर बलेफी हाइड्रोपावर (३६ मेगावाट), नेसम खोला हाइड्रोपावर (४१ मेगावाट) र सिता हाइड्रोपावर (४६ मेगावाट) मा स्थानीयले अवरोध गरेको इप्पानको दावी छ ।

धितोपत्र बोर्डले समयमै आईपीओ स्वीकृति नदिँदा समस्या झेलिरहेका ऊर्जा उत्पादक कम्पनीहरूलाई स्थानीयले धम्क्याउने गरेका कारण पनि थप समस्या परेको इप्पानको भनाइ छ ।

निजी क्षेत्र धितोपत्र सूचिकरण तथा वितरण नियमावली २०६५ अनुसार १० प्रतिशत सेयर प्रभावित स्थानीयबासीलाई दिन तयार रहेको र विगतमा दिँदै आएको भए पनि विद्यमान नियम र कानून विपरित निःशुल्क दिन सम्भवन नभएको इप्पानले जनाएको छ ।

इप्पानले निःशुल्क सेयरको नाममा आयोजना अवरुद्ध नगर्न आग्रह गर्दै, यस्तो कार्यमा संलग्न हुनेलाई निरुत्साहित गर्न सरकारलाई शान्ति–सुरक्षा बलियो बनाउने वातावरण सिर्जना गर्न अनुरोध गरेको छ ।

ऊर्जा आयोजनाको सुरक्षार्थ नीति निर्माण गर्न तथा विशेष सुरक्षा दस्ता गठन गर्न नेपाल सरकारसँग माग गरिएको इप्पानले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ