काठमाडौं । अफगानिस्तानको कुनार र नाग्गारहार प्रान्तमा गएको शक्तिशाली भूकम्पले देशमा फेरि मानवीय संकट निम्त्याएको छ। मृत्यु हुनेको संख्या ८१२ पुगेको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन्।
तालिबान सरकारका अनुसार ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ता भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गर्दै भने, “हामीलाई तत्काल सहायता आवश्यक छ। घरहरू भत्किएका छन् र धेरै मानिसले ज्यान गुमाएका छन्।”
विदेश मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देश वा संस्थाबाट उद्धार वा राहतका लागि प्रस्ताव प्राप्त नभएको जनाएको छ। उद्धार कार्य जारी छ र ३० डाक्टर प्रभावित क्षेत्रमा परिचालित छन्। अल जजिराले जनाएको छ कि ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पठाइएको छ।
तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले उद्धारकर्मीहरू दुर्गम हिमाली बस्तीमा पुग्न कठिनाइ भैरहेको बताए। मोबाइल नेटवर्क अवरुद्ध भएको र माटो तथा ढुंगाले बनेका अधिकांश घर भत्किएकोले जनधनमा ठूलो क्षति भएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार जनसंख्याको आधाभन्दा बढीलाई तत्काल मानवीय सहायता आवश्यक छ। भारत, चीन, पाकिस्तान, टर्की र अजरबैजानले दुःख व्यक्त गरेका छन् भने चीनले आवश्यकताअनुसार राहत सहयोग गर्न तयार रहेको जनाएको छ।
विशेषज्ञहरूले भन्छन्, अफगानिस्तान हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने भएकाले विनाशकारी भूकम्पको जोखिम सधैं रहन्छ। यस अघि सन् २०२२ मा पनि ६.१ म्याग्निच्युडको भूकम्पले झण्डै एक हजार जनाको मृत्यु गराएको थियो।
गृहयुद्ध सकिएर उकासिन खोजिरहेको अफगानिस्तानमा यस्तो ठूलो प्राकृतिक विपत्तिले देशलाई पुनः संकटमा पारेको छ। तालिबानको महिलाप्रतिको नीति र अन्तर्राष्ट्रिय सहायता कटौतीले मानवीय संकट अझ गहिरो बनेको छ।
प्रतिक्रिया