काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार भदौ मसान्तसम्म कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा २२.५४ प्रतिशतले बढी हो। गत वर्षको भदौ मसान्तसम्म वैदेशिक व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको थियो।
आयात ३ खर्ब नाघ्यो
भदौ मसान्तसम्म वस्तु आयात ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १६.२३ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा आयात २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ मात्र थियो।
निर्यातमा ८८.५७ प्रतिशतको वृद्धि
निर्याततर्फ भने सकारात्मक प्रगति भएको छ। दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८८.५७ प्रतिशत बढी हो। गत वर्ष भदौसम्म निर्यात २५ अर्ब ९ करोड रुपैयाँ मात्र थियो।
व्यापार घाटा अझै उच्च
दुई महिनाको अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ रहेको विभागले जनाएको छ। कुल व्यापार २२.५४ प्रतिशतले बढे पनि घाटा भने ८.५९ प्रतिशत मात्र बढेको हो। यसमा निर्यातको उल्लेख्य वृद्धिले महत्वपूर्ण योगदान पुर्याएको बताइन्छ।
आयात–निर्यातको हिस्सा
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा अझै पनि ८६.५८ प्रतिशत छ। तर यो अघिल्लो वर्षको तुलनामा ५.१५ प्रतिशतले घटेको छ। निर्यातको हिस्सा भने १३.४२ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षभन्दा ५३.८८ प्रतिशतले धेरै हो।
प्रतिक्रिया