काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाडका रुपमा मनाइदै आएको दसैँ नजिकिँदै गर्दा उपत्यका सुनसान बन्दै गएको छ भने गाउँघर जीवन्त र रमाइलो बनेका छन्। शिक्षा, रोजगार र अवसरको खोजीमा काठमाडौं बसोबास गर्दै आएका अधिकांश मानिसहरु दसैँ मनाउन गाउँ फर्केसँगै उपत्यका रितिएको हो ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार घटस्थापनादेखि मङ्गलबारसम्म दिनमै ५ लाख ५३ हजारभन्दा बढी नागरिक उपत्यका छाडेर गाउँ फर्किसकेका छन्। परिणामस्वरूप काठमाडौंका सडकमा दैनिक सवारी चाप करिब ४० देखि ५० प्रतिशतसम्म घटेको देखिएको छ।
ट्राफिक प्रहरीका अनुसार धेरैजसो मानिस घर फर्किसकेकाले सडक विगतको तुलनामा खाली भए पनि ट्राफिक सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।
गाउँतिर भने वातावरण उत्सवमय छ। टिका–जमरा छर्ने तयारी, आँगन सजाउने, पुराना साथी–भाइसँग पुनर्मिलन, सामाजिक सञ्जालमा चाडपर्वका रमाइला दृश्य–तस्बिरले चहलपहल झनै बढाएको छ।
दसैँ केवल टीका र मीठा परिकारमा सीमित नभई परिवारसँग पुनः भेट्ने, बाल्यकालका सम्झना ताजा गर्ने र समाजमा एकता र मेलमिलापको संदेश दिने पर्व भएकाले परदेशिएका प्रायः आफ्नै गाउँ फर्किएका छन्।
प्रतिक्रिया