काठमाडौँ । लगातारको पहिरो र अवरोधले बन्द रहेको बिपी राजमार्गलाई छिट्टै सञ्चालनमा ल्याउन सडक विभागले अस्थायी डाइभर्सन निर्माण सुरु गरेको छ। नेपालथोक, चौकी डाँडा, दाप्चा पुल, कटुने, चारसय बेंसी, पिन्नथली नाकेर कालडुंगासहितका विभिन्न स्थानमा डाइभर्सन बनाउने कार्य तीव्र गतिमा भइरहेको विभागले जनाएको छ। उक्त कामका लागि आठवटा स्काभेटर र दुईवटा हिल लोडर प्रयोग गरिएको छ।
विभागका अनुसार अस्थायी डाइभर्सन पूरा भएपछि राजमार्गलाई छोटो समयमा सञ्चालनमा ल्याइनेछ। हाल काठमाडौँबाट सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरतर्फ जाने सवारीहरूले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। राजमार्ग अवरुद्ध हुँदा भकुण्डेबेसी–तिमाल–सिधुचौर हुँदै मध्यपहाडी राजमार्गको प्रयोग गरी सिन्धुली पुग्न सकिने बताइएको छ। त्यस्तै सोलुखुम्बु र ओखलढुंगा जाने यात्रुहरू चरिकोट–जिरी मार्ग हुँदै गन्तव्यतर्फ पुगिरहेका छन्। सडक विभागले अस्थायी डाइभर्सन तयार भएपछि राजमार्ग छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याइने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया